जसपा फूटको संघारमा, फुटेको घोषणा गर्न मात्रै बाँकी

जसपा फूटको संघारमा, फुटेको घोषणा गर्न मात्रै बाँकी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आन्तरिक विवाद अन्ततः फुटको संघारमा पुगेको छ । पार्टी आधिकारीकताको दाबी गर्दै दुवै पक्षले निर्वाचन आयोगमा निवेदन दिएपछि आयोगले महन्थ ठाकुर र उपेन्द्र यादव पक्षसंग छलफल गर्दैछ ।

पार्टी अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले पार्टी आधिकारिकता दाबी गरेपछि आयोगले छलफलमा बोलाएको हो । उनीहरूलाई राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को ४ बमोजिम छलफलका लागि बोलाइएको आयोगले जनाएको छ ।

सो दफामा ‘आयोगले विवादका सम्बन्धित पक्षहरूलाई आपसी सहमति बमोजिम विवाद निरुपण गर्ने प्रयोजनका लागि आयोगमा उपस्थित हुन अवधि तोकी सूचना दिने’ उल्लेख छ ।

आयोग जानु पूर्व आज दुवै पक्ष छुट्टाछुट्टै छलफलमा जुटेका छन् । महन्थ ठाकुर पक्षिय नेता बिमल प्रसाद श्रीवास्तवले जसपा फुटको संघारमा पुगेको बताए । अव कुनैपनि हालतमा मिलेर जान नसक्ने उनको भनाइ छ ।

उनले भने, ‘भोली निर्वाचन आयोगले पार्टी एकताको लागि बोलाएको छ । दुबै पक्षमा मनमुटाब कायमै छ । हामी धेरै अगाडी बढिसक्यौं । अव मिलेर जाने सम्भावना सक्किसक्यो । हामी फुटेको घोषणा गर्न मात्रै बाँकी छ ।’