पूर्वमन्त्री साहमाथि  पैसा ठगी गरेको आरोप, उजुरी बोकेर प्रहरीकोमा पुगिन पीडित महिला

पूर्वमन्त्री साहमाथि  पैसा ठगी गरेको आरोप, उजुरी बोकेर प्रहरीकोमा पुगिन पीडित महिला

क्यानडा पठादिने भन्दै ३० लाख रुपैयाँ लिएर नपठाई ठगी गरेको भन्दै पूर्वमन्त्री प्रभु साहविरुद्ध उजुरी दिन एक महिला प्रहरी कार्यालय बानेश्वर पुगेकी छिन् । काठमाडौं बाँसबारीकी दीपा कुँवर केसीका छोरालाई साहले क्यानडा पठाइदिने भन्दै ३० लाख रुपैयाँ लिएर नपठाएको पीडित केसीको आरोप छ ।  

‘तीन वर्षअघि नै मेरो छोरालाई क्यानडा पठाइदिन्छु भनेर ३० लाख रुपैयाँ लिनु भएको हो ।  पछि पठाउन नसकेपछि साढे १० लाख फिर्ता पनि गर्नुभयो । २० लाख रुपैयाँ पटक–पटक माग्दा पनि दिनु भएको छैन,’ केसीले भनिन्,‘ आज पैसा माग्न उहाँको घरमा जाँदा  म माथि हातपात भयो । अहिले उजुरी दिन बानेश्वर प्रहरी वृत्तमा आएकी छु ।’ 

बानेश्वर प्रहरी वृत्तका प्रमुख डीएसपी मिम बहादुर लामाले भने आफू खाना खान आएकाले उजुरी दिन आएकी महिलाबारे बुझ्न बाँकी रहेको बताए । 

प्रहरीका अनुसार दीपा केही महिला साथी लिएर आइतबार बिहान पूर्वमन्त्री साहको घरमा पुगेकी थिइन् । तर, साहले उनलाई आफूले नचिन्ने भन्दै कुरा गर्न इन्कार गरेका थिए । 

साहले समेत उनीहरू बिहान आफ्नो घरमा आएको स्वीकार गर्दै महिलाले घरमै आएर आफूमाथि दुर्व्यवहार गरेको बताए । ‘एउटा महिलाको समूह मेरो घरमा आएको थियो । उनीहरूले ममाथि दुर्व्यवहार गरे । मैले पैसा ठगी गरेको भए प्रहरीले अनुसन्धान गर्ला,’ साहले  भने ।