काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै छ । शुक्रबार विहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले केन्द्रीय कमिटीको १३ औं बैठकमा पार्टीमा उत्पन्न अन्तरविरोध र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताए ।
विहीबार साँझ ओली र नेपाल पक्षका दोस्रो तहका नेताबीच भएको छलफलमा नेपाल पक्षले केन्द्रीय कमिटी बैठक स्थगित गर्न आग्रह गरेको थियो । नेपाल पक्षले आग्रह गरे पनि अहिलेसम्म बैठक स्थगित हुने कुनै संकेत नदेखिएको तामाङले जानकारी दिए । गत फागुन २३ गते सर्वोच्च अदालतले नाम विवादमा नेकपा खारेजी गरि एमाले र माओवादी केन्द्र ब्युत्याइ दिएपछि दोस्रो पटक केन्द्रीय कमिटी बैठक बस्दै छ ।
वरिष्ठ नेता माधव नेपाल पक्षको अनुपस्थितिमा बसेको पहिलो बैठकले नवौं महाधिवेशनबाट निर्वाचित पार्टी कमिटीलाई १० औं महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको थियो । उक्त निर्णयप्रति आपत्ति जनाउँदै नेपाल पक्षले समानान्तर कमिटीको अभ्यास थालेको छ ।