प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी राजनीतिक दलका शीर्ष नेता मात्रै होइन सर्वोच्च अदालतका न्यायाधीश र बुद्धिजीवीहरूमाथि पनि तिखो शब्द बाण प्रहार गरेका छन् । सोमबार सरकारी निवास बालुवाटारमा मदन भण्डारी फाउन्डेसनको आयोजनामा भएको कार्यक्रममा एमाले अध्यक्ष समेत रहेका ओलीले न्यायाधीश, बुद्धिजीवी र राजनीतिक दलका शीर्ष नेतामाथि पालैपालो खनिएका हुन् ।
डेढ घण्टा सम्बोधन गरेका ओलीले अधिकांश समय काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका नेताहरूको आलोचनामै खर्चिए ।
सम्बोधनका क्रममा ओली सबैभन्दा बढी आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको कार्यशैली र राजनीतिक व्यवहारमाथि प्रहार गर्न पुगे । उनले नेता नेपाललाई प्रचण्डको पुच्छर, लाज सरम पचेको, अराजक, अनुशासनहीन र इमान नभएको भनेर टिप्पणी गरे ।
जननेता मदन भण्डारीलाई साक्षी राखेर ओलीले आफूबाहेक अरू सबै नेता, संवैधानिक निकाय र बुद्धिजीवी कोही पनि ठिक बाटोमा नहिँडेको टिप्पणी गर्न भ्याए । उनले आफू बाहेक अरू सबै राजनीतिक दल र तिनका नेताहरू झुट र बेइमानीको राजनीतिबाहेक केही नगरेको दाबी गरे ।