दुई महिनापछि काठमाडौँमा चल्न थाले सार्वजनिक सवारी

दुई महिनापछि काठमाडौँमा चल्न थाले सार्वजनिक सवारी

काठमाडौं । दुई महिनापछि काठमाडौँ उपत्यकामा मंगलबारदेखि सार्वजनिक सवारी साधन चल्न थालेका छन्। कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएसँगै गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लाग्दा सार्वजनिक सवारी साधान चल्न पाएका थिएनन्।

तर मंगलबारदेखि २५ सिट क्षमता भन्दा माथिका सार्वजनिक सवारी साधन जोर–बिजोर नम्बर प्रणालीका आधारमा सञ्चालन सुरु भएको हो। जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर प्लेटका सवारी साधान चल्ने छन्।

सोमबार उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा असार २१ गतेसम्म लम्ब्याउने तर खुकुलो बनाउँदै लैजाने निर्णय गरेको थियो।

स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै र भौतिक दूरी कायम गरि सवारी साधन सञ्चालन गर्नुपर्ने छ। चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने जिल्ला प्रशासनबाट जारी सूचनामा उल्लेख छ।

यस्तै सहचालकले पञ्जा लगाउनुपर्ने र अनिवार्य रुपमा सवारीसाधन निसङ्क्रमित गर्नुपर्नेछ। यसरी बिहान ६ देखि बेलुका ७ बजेसम्म सार्वजनिक सवारी साधन सञ्चालन हुने छन्।

निजी सवारीसाधनमा बढीमा चार र ट्याक्सीको हकमा बढीमा तीनजना मात्रै यात्रु बस्न पाउने नियम लागु भएको छ। मोटरसाइकल–स्कुटरमा समेत जोर–बिजोर प्रणाली लागु भएको छ।