काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षले निर्वाचन आयोगमा लिखित जवाफ पेश गरेको छ । ठाकुर पक्षको लिखित जवाफ आइतबार पेश भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
जसपाका अध्यक्ष ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवको दाबी ठहर नगर्ने जिकिरसहितको जवाफ बुझाएका छन् । ठाकुर पक्षले आफूसँग बहुमत रहेको दाबी पनि गरेको छ । आफ्नो पक्षमा बहुमत रहेकाले आधिकारिकता आफूहरुले पाउनुपर्ने केन्द्रीय कार्यकारिणी समितिका एक सदस्यको जिकिर छ ।
उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धि ऐनको दफा ४३–४४ बमोजिम पार्टीको आधिकारिकता दाबी गरेको थियो । उपेन्द्र पक्षले आयोगमा ३० सदस्यको हस्ताक्षरसहित दाबी गरेको हो ।
त्यसपछि आयोगले १५ दिनभित्र लिखित जवाफसहित प्रमाण पेश गर्न ठाकुर पक्षलाई पत्राचार गरेको थियो । सोही अनुसार उक्त पक्षले समयसीमा भित्रै पत्रको जवाफ बुझाएको हो । जवाफको अध्ययन गरेर आयोगको बैठक बसेर थप प्रक्रिया अघि बढाउने प्रवक्त श्रेष्ठले जानकारी दिए ।