२६ दिनपछि आफ्नै खेतमा गाडेको अवस्थामा भेटियो सुजिताको शव, श्रीमान् र देवर पक्राउ

२६ दिनपछि आफ्नै खेतमा गाडेको अवस्थामा भेटियो सुजिताको शव, श्रीमान् र देवर पक्राउ

महोत्तरी । २६ दिनदेखि बेपत्ता भएकी महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराकी सुजितादेवी ठाकुरको शव आफ्नै खेतमा गाडेको अवस्थामा आइतबार फेला परेको छ । उनी गत १९ जेठदेखि सम्पर्कविहीन भएकी थिइन् । २६ वर्षीया ठाकुरको शव माइती पक्षको सहयोगमा प्रहरीले फेला पारेको हो । 

शव करिब ६ फिट गहिरो खाल्डोमा भेटिएको, शव गलाउन नुन, रासायनिक मल तथा केमिकल प्रयोग गरिएको प्रहरीले जनाएको छ । शव गाडेको माथि खेतमा धानको बेर्ना राखिएको थियो । ओछ्याउने कपडामा पोको पारेर शव गाडिएको र गलिसकेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए । शव पोस्टमार्टमका लागि जलेश्वर अस्पताल ल्याइए पनि पछि थप जाँचका लागि अन्यत्र पठाउन सकिने डिएसपी विष्टले बताए ।

सुजिता हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनका श्रीमान् मुकेश ठाकुर र देवर रूपेश ठाकुरलाई नियन्त्रणमा लिएको छ । ससुरा पतिराम ठाकुर भने फरार रहेको प्रहरीले जनाएको छ । सुजिताको माइती पक्षले उनी हराएकै दिनदेखि हत्या गरिएको भन्दै पटक–पटक जाहेरी लिएर गए पनि प्रहरीले बेवास्ता गरेको आरोप लगाएको छ । महिला अभियन्ता गुञ्जा राय, ओरेक नेपालकी कार्यक्रम संयोजक लीला दियाली, सामाजिक अभियन्ता सरोज रायसमेतले सुजातादेवीको खोजीमा लाग्न प्रहरीलाई दबाब दिँदै आएका थिए । चौतर्फी दबाब र माइती पक्षकै अडानपछि प्रहरीले ठाकुरको खेतमा खाल्डो खनेर हेर्दा शव भेटिएको हो ।

गत १९ जेठको बिहानै सुजाताको ससुरा र देवरसँग घरायसी झगडा भएको उनका बाबु पिपरा गाउँपालिका–६ रतौलीनिवासी कामेश्वर पाण्डेयले बताए । सोही दिन पतिराम ठाकुरले सम्धीलाई ‘तपाईंकी छोरीले सुरुमा झगडा गरेको, तर केही समयपछि शान्त रहेको’ भनी फोन गरेका थिए । तर, आफूले केही समयपछि छोरीसँग फोनमा कुरा गराइदिन भन्दा विभिन्न बहाना बनाउँदै नमानेको, दिउँसो फोन गर्दा ‘तपाईंकी छोरी घर छाडेर कुनै केटासँग हिँडेको’ भन्ने जवाफ पाएको पाण्डेयले जानकारी दिए । ठाकुर परिवारले सोही दिन आफ्नो खेतमा खाल्डो खनेको केही गाउँलेले देखेको र आफ्नी छोरीलाई हत्या गरेर सोही खाल्डोमा पुरेको हुन सक्ने आफूहरूले आशंका गर्दै आएको र त्यो सत्य भएको पाण्डेयको भनाइ छ । उनले आफ्नी छोरीको शव गाडेर माथिबाट धानको बेर्ना छरेकोसमेत बताए ।

तीन सातासम्म पनि छोरीलाई खोज्ने क्रममा नभेटेको, विभिन्न व्यक्तिले तिम्री छोरीलाई मारिसके भन्ने खबर सुनाएपछि आफूहरू प्रहरीदेखि हरेक ठाउँमा धाइरहेको सुजिताका बाबु पाण्डेयले गुनासो पोखे । आरोपीमध्येका एक रूपेश ठाकुरले विदेशमा भएको आफ्नो जेठो छोरासँग ह्वाट्सएपमा तिम्री बहिनी मरिसकेको र उसको लाससमेत गलिसकेको बताएको भिडियो पठाएको र त्यो भिडियो प्रहरीलाई प्रमाणका रूपमा देखाउँदा प्रहरीले त्यसलाई प्रमाण नै नमानेको उनले दुःखेसो गरे ।