काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संसद् विघटन कुन धाराअन्तर्गतको प्रधानमन्त्रीले गर्न पाउने हो भनी प्रश्न गरेका छन्। प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाइमा उनले उक्त प्रश्न उठाएका हुन्।
रिट निवेदकतर्फका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले बहस गरिरहँदा प्रधानन्यायाधीश राणाले कुन प्रधानमन्त्रीले विघटन गर्न पाउने भनी प्रश्न गरेका थिए।
'संविधानले सरकार बन्न नसकेमा विघटन गर्न पाउने अधिकार दिएको छ। त्यो अधिकार उपधारा ५ को प्रधानमन्त्रीले मात्र पाउने हो र ?,' राणाको प्रश्न थियो, 'यसमा ७६ (५) पछि उपधारा ७ पनि व्याख्या गर्ला। उपधारा ५ को प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके विघटन गर्न उपधारा ७ ले पाउँछ हैन र ?'