उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाउने तयारी

उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाउने तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने तयारी गरिएको छ। पछिल्लोपटक थप गरिएको निषेधाज्ञा सोमबार सकिँदैछ। निषेधाज्ञालाई थप खुकुलो बनाउने गरी छलफल भइरहे पनि सार्वजनिक यातायात भने खोल्न नदिइने भएको छ।

‘कोरोना संक्रमण जुन अवस्थामा घट्छ भन्ने अपेक्षा गरिएको थियो त्यो घटेन,’ ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले  भने, ‘निषेधाज्ञालाई जारी राखिन्छ तर के-के खुल्न दिने भन्ने निर्णय गर्छौं।’

उनकाअनुसार सम्भवत आज उपत्यकाभित्रका प्रजिअहरूको बैठक बस्नेछ। उक्त बैठकअगाडि जिल्लास्तरीय कोभिड नियन्त्रण समितिको बैठक बसेर संक्रमणको अवस्थाबारे छलफल हुनेछ।

सरकारले असार १७ गतेदेखि आन्तरिक उडान खोल्ने बताइसकेको छ। निजी सवारी साधनहरू गत सातादेखि नै जोर(बिजोर प्रणालीअनुसार सञ्चालन भइरहेका छन्। कपडालगायत पसल पनि बारअनुसार खोल्न दिइएको छ।