देशका अधिकांश भूभागमा भीषण वर्षा, कहिले रोकिन्छ ?

देशका अधिकांश भूभागमा भीषण वर्षा, कहिले रोकिन्छ ?

काठमाडौं । शनिवार बिहानैदेखि मुलुकका अधिकांश भूभागमा भीषण वर्षा भइरहेको छ । अहिले प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश भूभागमा भीषण वर्षा भइरहेको मौसम विभागले जनाएको छ ।

अहिले भइरहेको वर्षा अबको केही घन्टामा रोकिएपनि पुन: पानी परिहाल्ने वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले लोकान्तरलाई जानकारी दिइन् । उनले भनिन्,'करिब २ घन्टा आसपासमा अहिले भइरहेको वर्षा केही बेर रोकिने देखिन्छ भने केही बेरमै पुन: वर्षा शुरू हुन्छ ।'

अहिले भइरहेको वर्षा पर्सीसम्म कायम रहने उनको भनाइ छ । मनसुनी वायुको प्रभाव निकै सक्रिय रहेकाले वर्षा भइरहेको उनले बताइन् । जुन ११ देखि नेपालमा मनसुन सक्रिय भएको थियो । सोही प्रणाली अहिले पनि कायमै रहेको छ ।

पर्सीबाट भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि वर्षा हुने विभागको भनाइ छ । मुलुकका अधिकांश भूभागमा वर्षा भइरहेकाले सतर्कता अपनाउन विभागको सुझाव छ ।