दायित्व पूरा नगर्ने राष्ट्रपतिलाई महाअभियोग लगाउन सकिन्छ: टीकाराम भट्टराई

दायित्व पूरा नगर्ने राष्ट्रपतिलाई महाअभियोग लगाउन सकिन्छ: टीकाराम भट्टराई


काठमाडौं । संविधानविद् टीकाराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले महाभियोग लाग्ने काम गरेको बताएका छन् । उनले सर्वोच्च अदालतमा शुक्रबार भएको बहसमा यस्तो बताएका हुन् ।

“संवैधानिक दायित्व निर्वाह गर्दिन भन्ने अधिकार राष्ट्रपतिलाई छैन,” उनले भने, “राष्ट्रपतिबाट भएका काम कारबाहीविरुद्ध न्यायिक पुनरावलोकन हुँदैन भन्ने मान्यता संविधानले स्वीकार गर्दैन । संविधानको धारा १३३ ले यो व्यवस्था स्वीकार गर्दैन । राष्ट्रपतिले संविधानको ठाडो उल्लंघन गर्नुभएको छ । राष्ट्रपतिलाई धारा ७६(५) ले कसैलाई पनि नियुक्ति नै नगर्ने अधिकार दिएको छैन । संविधानले तोकेको कर्तव्य निर्वाह नगर्ने पदाधिकारीलाई महाभियोग लगाउने व्यवस्था छ । न्यायाधीशलाई न्याय निरुपणका लागि इजलासमा बस्दिन भन्ने अधिकार हुँदैन । त्यस्तै राष्ट्रपतिलाई पनि आफ्नो दायित्व निर्वाह नगर्ने छुट हुँदैन ।”

राष्ट्रपतिले आधार खोज्न पाए पनि संवैधानिक दायित्व भुल्न नहुने उनको भनाइ थियो । “राति ११ बजे महन्, राजेन्द्र र केपी ओलीले निवेदन दिँदा स्वीकार गर्ने ? यो बदनीयत होइन ?,” उनको भनाइ थियो ।