नागरिकलाई घरभित्र थुनेर निषेधाज्ञा सत्ता जोगाउने सुरक्षा कवज बन्यो:कांग्रेस

नागरिकलाई घरभित्र थुनेर निषेधाज्ञा सत्ता जोगाउने सुरक्षा कवज बन्यो:कांग्रेस

काठमाडौं प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसले नागरिकलाई तत्काल खोपको उपलब्धता गराउन सरकारसँग माग गरेको छ । बिहीबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले कोरोना संक्रमणबाट जोगाउने एक मात्र औषधि खोप भएकाले सबै नागरिकको पहुँचमा खोप उपलब्ध गराउन माग गरेको हो ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री डा प्रकाशशरण महतले नेपाललाई खोप उपलब्ध गराउन अन्तराष्ट्रिय समुदायसँग आग्रह गरेको जानकारी दिए । उनले विदेशी राष्ट्रहरुले विभिन्न देशलाई उपलब्ध गराउने भनेको खोप नेपाललाई प्राथमिकताका साथ उपलब्ध गराउन आग्रह गरिएको बताए ।

‘नेपालको वस्तुस्थितिलाई ध्यानमा राखेर विभिन्न देशलाई दिने भनेको खोप नेपाललाई प्राथमिकताका साथ उपलब्ध गराउन अनुरोध गरेका छौं’, महामन्त्री महतले भने ।

कांग्रेसले निषेधाज्ञालाई सरकार बचाउने सुरक्षा  कवजको रुपमा प्रयोग गरेको आरोप लगाएको छ । उनले सरकारले निषेधाज्ञा गरेर नागरिकलाई घरभित्र थुनेर सत्ता जोगाउने खेलमा लागेको आरोप लगाए ।

‘सरकारको अकर्मण्यताका कारण कोरोना संक्रमण फैलियो र लकडाउन गर्नुपर्ने अवस्था आयो । लकडाउनलाई नै सरकारले सत्ता जोगाउने सुरक्षा कवजको रुपमा प्रयोग गरिरहेको छ’, महामन्त्री महतले भने ।