सेनाको हेलिकोप्टरबाट मनाङमा बाढीका कारण फसेका ३५ जनाको उद्धार

सेनाको हेलिकोप्टरबाट मनाङमा बाढीका कारण फसेका ३५ जनाको उद्धार

हिमाली जिल्ला मनाङमा सेनाको हेलिकोप्टरले बाढी प्रभावितको उद्धार गरेको छ । तीन दिनदेखि बाढीका कारण फसेका मनाङ नासोँ गाउँपालिका तालका स्थानीयको बिहीबार उद्धार गरिएको हो । मनाङका निवर्तमान सांसद पाल्देन गुरुङसहितको उद्धार टोलीले मनाङको नासोँ गाउँपालिका– १, सिरानतालमा फसेका २४ जनालाई तालडाँडामा लगेको छ । नासोँ गाउँपालिका– ५, थोंचेका ११ जनालाई उद्धार गरी चामेमा लगिएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।

यस्तै, नासोँ गाउँपालिका ६, ताम्राङमा रहेका १६ जनाको उद्धारको गर्ने प्रयास भइरहेको लामिछानेको भनाइ छ । बाढीका कारण भौगोलिक रूपमै समस्यामा परेकालाई उद्धार गरिएको छ भने सुरक्षित ठाउँमा बसेकालाई ठाउँठाउँमा राहत पु¥याइएको गुरुङले बताए ।

उनले ३ मंगलबारदेखि बाढी प्रभावितको उद्धार गर्न प्रयास गरे पनि मौसम खराबीका कारण उद्धारमा ढिलाइ भएको बताए । उनले चामेमा पानीको अभाव भएपछि निजी हेलिकोप्टरमार्फत खानेपानीसमेत लगेका छन् । मनाङको नार्पाभूमि गाउँपालिकाको फु गाउँको लेकमा ७५ जना फसिरहेका छन् । हेलिकोप्टर उनीहरूको अवस्था बुझेर फर्केको छ । 

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार फु गाउँको नामु लेक समुद्री सतहदेखि करिब पाँच हजार मिटर उचाइमा ७५ जना छन् । उनीहरूकोे उद्धारको प्रयास भइरहेको घलेले बताए । 

मनाङमा राहत लिएर पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङ र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल पनि मनाङ पुगेका छन् । गुरुङ निजी हेलिकोप्टरमार्फत राहत लिएर मनाङ पुगेका हुन् भने मुख्यमन्त्री पोखरेल सेनाको हेलिकोप्टरबाट मनाङ पुगेका हुन् । मनाङमा बाढीले बुधबार नासाेँ गाउँपालिकाको भवन, प्रहरी चौकी धारापानी, प्रभु बैंक, प्राइम कमर्सियल बैंकको भवन र पाँचवटा होटेल बगाएको थियो ।