कर्णालीमा फेरि सुरु भयो सरकार ढाल्ने खेल, एमाले संसदीय दलको बैठक बस्दै

कर्णालीमा फेरि सुरु भयो सरकार ढाल्ने खेल, एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । एमालेका सांसदको फ्लोर क्रसपछि जोगिएको महेन्द्र बहादुर शाही नेतृत्वको कर्णाली सरकार फेरि ढाल्ने खेल सुरु भएको छ । एमाले कर्णाली प्रदेश संसदीय दलका नेता  यामलाल कँडेलको नेतृत्वमा सरकार ढाल्न खेल सुरु भएको हो । यसैबीच एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक मंगलबारका लागि बोलाइएको छ । बैठकमा अदालतबाट पुनर्बहाली भएका चारजना सांसदलाई पनि बोलाइएको छ ।

सभामुख राजबहादुर शाहीले प्रदेश सभामा सोमबार उनीहरु एमाले संसदीय दलमा फर्किएको जानकारी गराएका थिए । उनीहरु एमालेमा फर्किएर कँडेललाई सघाएमा मुख्यमन्त्री शाहीको पद धरापमा पर्ने देखिन्छ ।

गत वैशाख ३ गते माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई एमालेको माधव नेपाल समूहका प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले विश्वासको मत  दिएका थिए । त्यही कारण उनीहरु प्रदेशसभा सदस्यबाट निष्कासित भएकामा सर्वोच्च अदालतले उनीहरुको पुनर्बहाली गरिदिएको थियो ।

अब एमाले मिलेमा ४० जनाको प्रदेशसभामा एमालेसँग मात्रै  २० जना सांसद हुने छन् । यसैगरी, माओवादीका १३, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् । राप्रपाले भने सरकारलाई समर्थन गरेको छैन । यो अवस्थामा कर्णालीमा राजनीतिक समीकरण बदलिन सक्ने विश्लेषण गर्न थालिएको छ ।