आज रातिदेखि थपिएको निषेधाज्ञामा के खोल्न पाइन्छ ? के पाइँदैन ?

आज रातिदेखि थपिएको निषेधाज्ञामा के खोल्न पाइन्छ ? के पाइँदैन ?

काठमाडौं । काठमाडौंमा केही सहज व्यवस्थासहित थपिएको निषेधाज्ञा आज राति १२ बजेदेखि लागू हुँदैछ । यसअघि जेठ मसान्तसम्म निषेधाज्ञा रहेकोमा काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको हिजोको बैठकले एक हप्ता निषेधाज्ञा थपेर असार ७ गतेसम्म पुर्याएको हो ।

थपिएको निषेधाज्ञाका समयमा तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसल, किराना पसल र डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । यसअघि यस्ता पसल बिहान ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइन्थ्यो । यस्तै पुस्तक पसल तथा प्रिन्टिङ प्रेस बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ । यस्तै, अत्यावश्यक वस्तुहरुको होम डेलिभरी सेवा पनि बेलुकी सात बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । गाडी मर्मतका लागि वर्कशप बेलुका ९ बजेसम्म सञ्चालन गर्न सकिने भएको छ ।

विकास निर्माणजन्य सामग्रीहरु छड, सिमेन्ट, बिजुलीका सामान, स्यानिटरी, हार्डवेयर लगायतका पसल दिउँसो ४ बजेपछि सञ्चालन गर्न सकिने भएको छ । यस्तै राति नौ बजेदेखि बिहान ५ बजेसम्म निर्माणजन्य सामग्री ढुवानी गर्न पाइने भएको छ । औषधि लगायतका मेडिकलजन्य अत्यावश्यक सेवाका पसलहरु यसअघि झै खोल्न पाइने छ ।

कृषिफर्म तथा कृषिजन्य वस्तुहरुको किनबेच र ढुवानीमा सहजीकरण गरिने निषेधाज्ञा आदेशमा भनिएको छ । नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड पालना गरी बैँक तथा वित्तीय संस्थाले सीमित सङ्ख्यामा जनशक्ति परिचालन गरी सेवा सञ्चालन गर्न सक्ने गरी खुकुलो बनाइएको छ । यसअघि सीमित कार्यालय मात्रै खोल्न पाइने थियो ।

बीमा समिति, बीमा कम्पनी र धितोपत्र बोर्डले आलोपालो गरी २० प्रतिशत जनशक्ति राखेर सञ्चालन गर्न सक्नेछन् । विवाह, व्रतबन्ध लगायतका कार्यक्रम बढीमा सात जना सहभागी भएर घर वा आफू बसेकै ठाउँमा गर्न पाइने छ । जसको लागि एउटा गाडी प्रयोग गर्न पाइने छ । निजी तथा सार्वजनिक यातायात असार ७ गतेसम्मकै लागि बन्द रहनेछन् ।

भौतिक उपस्थितिमा हुने शैक्षिक कार्यक्रम बन्द रहनेछ । भौतिक उपस्थितिमा सभा–सम्मेलन गर्न पाइने छैन । होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस लगायतमा लगाइएको प्रतिबन्ध यसअघिकै निरन्तर छ ।