काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा जेठ पछि पनि थपिने

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा जेठ पछि पनि थपिने

काठमाडौं । काठमाडौं उपत्यकामा लागू निषेधाज्ञाको अवधि जेठ ३१ पछि पनि लम्ब्याउने सम्भावना देखिएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले यस विषयमा तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीबीच छलफल भइरहेको जानकारी दिए।

‘अब यो जेठ ३१ पछि यसअघि तोकिएको निषेधाज्ञाको अवधि सकिँदै छ,’ प्रमुख जिल्ला अधिकारी पराजुलीले भने, ‘अब त्यसपछि के गर्ने भन्ने विषयमा हामी होमवर्क गर्दै छौं।’ उनका अनुसार अवस्था विचार गरेर जेठ ३१ पछि के गर्ने भन्ने विषयमा निर्णय गरिनेछ।

निषेधाज्ञाको अवधि थपिने नै सम्भावना छ कि के छ भन्ने जिज्ञासामा प्रमुख जिल्ला अधिकारी पराजुलीले अहिले विभिन्न विकल्पमा छलफल भइरहेको र अहिल्यै तोक्न नमिल्ने बताए। ‘अब अवस्था हेरौं के हुन्छ,’ उनले भने, ‘३१ गते आउन अझै २-३ दिन बाँकी छ नि त।’ तर कोरोना संक्रमणको अवस्था अझै सामान्य भइनसकेकाले निषेधाज्ञा लम्बिने नै संकेत उनले गरेका छन्।

कोरोना महामारीको दोस्रो लहर सुरु भएयता वैशाख १६ बाट लागू निषेधाज्ञाको अवधि पटकपटक थपेर यो जेठ मसान्तसम्म पुर्‍याइएको हो।