राउटे युवतीलाई होटलमा लगेर दुर्व्यवहार, तीनजना पक्राउ

राउटे युवतीलाई होटलमा लगेर दुर्व्यवहार, तीनजना पक्राउ

सुर्खेत । जंगलमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायका युवतीलाई होटलमा लगेर दुर्व्यवहार गरेको आरोपमा तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भूपेन्द्र बुढा र २९ वर्षीय होटल सञ्चालक विनोद पुन रहेका छन्।

राउटे युवतीलाई होटलमा लगेर मदिरा सेवन गराएर तीनैजनाले भिडियो बनाएका थिए। उक्त भिडियो उनीहरुले सामाजिक सञ्जालमा अपलोड गरेका थिए। सामाजिक सञ्जालमा चौतर्फी आलोचना बढेपछि प्रहरीले शनिबार उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए।

‘राउटे समुदायलाई अनावश्यक दुःख दिने र उनीहरुलाई दवावमा राखेर नराम्रो भिडियो रेकर्ड गर्नु गलत पक्ष हो,’ प्रजिअ रिजालले भने, ‘यसबारे थप अनुसन्धान भइरहेको छ, कानुनअनुसार कारवाही प्रक्रिया अघि बढाउँछौं ।’

सामाजिक सञ्जाल युट्युब, टिकटक र फेसबुकमा भाइरल भएका राउटे समुदायका युवतीहरुमाथि पछिल्लो पटक दुर्व्यवहार बढ्दै गएको छ। भिडियो, फोटो खिच्न भन्दै राउटे समुदायमा पुग्ने स्थानीय युवाहरुबाट राउटे युवती दुर्व्यवहारको सिकार भइरहेको स्थानीय बताउँछन्।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि लेकबेशी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदाय केही दिनअघि मात्रै गुर्भाकोट नगरपालिका–११ आँपसोती जनैघाटस्थित भेरी नदी किनारामा बस्दै आएका छन्।