नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि जारी

नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि जारी

काठमाडौं । फुटको विन्दुमा पुगेको सत्तारुढ नेकपा एमालेको माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि जारी छ। बैठक भर्चुअल माध्यमबाट हिजोदेखि जारी छ। 

बैठकको दोस्रो दिन आज पनि केन्द्रीय सदस्यले आफ्नो धारणा राख्ने क्रम जारी छ। बहीबार करिब ७ घण्टासम्म चलेको बैठकमा सबै केन्द्रीय सदस्यले बोल्ने क्रम नसकिएपछि आज पुनः बैठक बसेको हो। 

हिजोको बैठकमा बोल्ने सबैजसो केन्द्रीय सदस्यहरुले आफूहरु २०७५ जेठ २ को अवस्थामा फर्केर पार्टीलाई एकताबद्ध बनाउन तयार रहे पनि अध्यक्ष केपी शर्मा ओलीले नै एकता नचाहेकाले अब स्पष्ट निर्णय गरेर अघि बढ्न नेतृत्वलाई दबाब दिएका थिए। 

उनीहरुले अहिले चलिरहेको वार्ताको प्रक्रिया अनन्तकालसम्म चल्न नसक्ने र एउटा डेडलाइन तोकेर अघि बढ्नुपर्ने बताएका छन्। त्यसपछि पनि वार्ताबाट निकास ननिस्किए पार्टी पुनर्गठन गरेर अघि बढ्नुपर्ने उनीहरुको निष्कर्ष छ। बैठकमा सहभागी सबै केन्द्रीय सदस्यको धारणा सुनिसकेपछि माधवकुमार नेपालले  आफ्नो धारणा राख्नेछन्।