चीनले अनुदानमा दिएको ८ लाख डोज खोप काठमाडौं आइपुग्यो

चीनले अनुदानमा दिएको ८ लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौं । चीनले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको १० लाख डोज खोपमध्ये ८ लाख डोज खोप आज काठमाडौं आइपुगेको छ ।

नेपाल वायुसेवा निगमको वाइडबडी विमानले बेइजिङबाट उक्त परिमाणको खोप काठमाडौं ल्याइपुर्‍याएको हो । खोप ल्याएको उक्त जहाज दिउँसो १ बजेर ४८ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

निगमको जहाज खोप लिन सोमबार राति ११ बजे बेइजिङ प्रस्थान गरेको थियो ।

आजै, चीनको स्वायत्त क्षेत्र तिब्बतले प्रदान गर्ने २ लाखमध्ये पहिलो लटको १ लाख डोज खोप चीनको कुन्मिङबाट हिमालयन एयरलाइन्सको विमानले काठमाडौं ल्याउँदैछ ।

बुधबार पनि कुन्मिङबाट हिमालयन एयरलाइन्सको जहाजले बाँकी १ लाख डोज खोप ल्याउने बताइएको छ । चीनले सिनोफार्म कम्पनीले विकास गरेको भेरोसेल खोप उपलब्ध गराएको हो ।

यसैसाता राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन संवादपछि चिनियाँ समकक्षी सी जिङपिङले नेपाललाई कोभिड-१९ महमारीविरुद्ध १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए ।