प्रतिनिधि सभा विघटनविरूद्धका मुद्दामा आज पनि सुनुवाइ हुँदै

प्रतिनिधि सभा विघटनविरूद्धका मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौ‌ं । प्रतिनिधि सभा विघटनविरूद्धका मुद्दामा सर्वोच्च अदालतले  आज पनि सुनुवाइ गर्दै छ। संवैधानिक इजलासमा शुक्रबारदेखि सुनुवाइ सुरु भए पनि बहस नसकिएकाले आज पनि सुनुवाइ हुने भएको हो। शुक्रबारदेखि संवैधानिक इजलासमा शुरु भएको सुनुवाइ ‘हेर्दाहेर्दै’ मा आजका लागि राखिएको थियो।

शुक्रबार संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलास गठन गरी बहस शुरु भएको थियो।

प्रधानन्यायाधीश जबराको एकल इजलासले बिहीबार १९ वटा रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि थप सुनुवाइका लागि संवैधानिक इजलासमा पठाउने आदेश जारी गरेको थियो । उक्त आदेशसँगै सो विवादका ३० वटै रिट निवेदनमाथि सुनुवाइ शुक्रबारदेखि सुरु भएको हो ।

शुक्रबारको बहसका क्रममा कानुनविद् गोबिन्द बन्दीले सवैधानिक इजलास गठनमाथि प्रश्न उठाएपछि आइतबारसम्मका लागि स्थगित गरिएको थियो। इजलासले एउटा रिटमा बढीमा १० मिनेटसम्म मात्र बहस गर्न समय तोकेको छ। संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी ३० वटा रिट दर्ता भएका छन् । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका  नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलसहित १४६ निवर्तमान सांसदले भने प्रतिनिधिसभा पुनःस्थापना गरी कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गरेका छन्।

मन्त्रिपरिषद्को यही जेठ ७ गतेको सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिले यही जेठ ८ गते गरेको निर्णय बदर गरी असंवैधानिक र गैरकानूनी घोषित गर्न माग ती निवेदनमा गरिएको छ।