जसपाको बहुमत पक्षद्वारा ठाकुर-महतोलाई अन्तिम अल्टिमेटम, २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ नआए पार्टीबाट निष्कासन गर्ने

जसपाको बहुमत पक्षद्वारा ठाकुर-महतोलाई अन्तिम अल्टिमेटम, २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ नआए पार्टीबाट निष्कासन गर्ने

जनता समाजवादी पार्टी जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरसहितका नेतालाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ।

ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यहरू लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई भट्टराई-यादव पक्षले स्पष्टीकरण सोधेको हो। जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोसहितका नेताहरूलाई जसपाको बहमुत पक्षले जेठ ११ गते ७२ घण्टे स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरणको जवाफ नआएपछि चारै जनालाई २४ घण्टे स्पष्टीकरण सोधिएको यादव(भट्टराई पक्षको भनाइ छ।

जसपाका कार्यकारिणी सदस्य प्रकाश अधिकारीद्वारा पठाइएको पत्रमा २४ घण्टाभित्र चित्त बुझ्दो जवाफ नआएमा पार्टीबाट निष्कासन गर्ने चेतावनी दिइएको छ। जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा भट्टराई-यादव पक्षमा ३० जना रहेका छन्।
नयाँ सरकार गठनका लागि कसलाई समर्थन गर्ने भन्ने विवाद हुँदा जसपामा दुई धार देखिएको हो।

जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो वर्तमान प्रधानमन्त्री केपी ओलीको निरन्तरताको पक्षमा छ भने भट्टराई-यादव पक्ष ओलीको बहिर्गमनको पक्षमा छ। पार्टीभित्र विवाद भएकै कारण जसपा अध्यक्ष ठाकुरले एकतर्फी रूपमा जेठ ८ गते र ९ गते बोलाइएको कार्यकारिणी समितिको बैठक स्थगित गरेका थिए। तर भट्टराई-यादव पक्षले भने बहुमत सदस्यसहित बैठक सम्पन्न गरेको थियो। बैठक बोलाउने बेलामा भने यादव र ठाकुर दुवै जनाले हस्ताक्षर गरेका थिए।

विघटित प्रतिनिधिसभामा ३२ जना सांसदमध्ये ठाकुर(महतो पक्षसँग २० जना सांसद रहेका छन्। ठाकुर(महतो पक्षको भेलाले वैशाख ३० गते भक्तपुरको एक रिसोर्टबाट महतोलाई संसदीय दलको नेता समेत चयन गरेको थियो।