कांग्रेस पदाधिकारी बैठकले गर्यो यस्तो निर्णय

कांग्रेस पदाधिकारी बैठकले गर्यो यस्तो निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपतिले गरेको संसद् विघटनको कदमका विरुद्ध कानुनी र राजनीतिक दुवैरुपमा प्रतिरोध गर्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवासमा शनिवार बिहान बसेको शीर्ष नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले  प्रधानमन्त्री र राष्ट्रपतिको कदमका विरुद्ध विपक्षी गठबन्धनमा रहेका सबै दल र नेताहरुले संयुक्त रुपमा कानुनी र राजनीतिक लडाई लड्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार केहीबेरपछि विपक्षी गठबन्धनको बैठक बानेश्वरस्थित संघीय संसद भवनमा बस्दैछ । बैठकले कसरी यो कदमको प्रतिरोध गर्ने भन्नेबारे  थप कार्यक्रमहरु स्पष्ट रुपमा तय गर्नेछ ।

विपक्षी गठबन्धनका तर्फबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एमालेका १४९ सांसदहरुलाई बानेश्वरस्थित संघीय संसद भवनमा बोलाइएको छ । ‘पहिले सर्वदलीय छलफल गर्ने, त्यसकालागि हस्ताक्षर गर्ने सबै सांसदहरुलाई संसद भवनमा बोलाइएको छ, त्यसपछि अदालतमा रिट हाल्ने र अरु कार्यक्रमहरु बनाएर प्रतिरोध गर्ने कुरा भयो,’ नेता पौडेलले भने । 

राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान बमोजिम संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीका लागि विपक्षी गठबन्धनका १४९ सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति देउवाले शुक्रबार राष्ट्रपति समक्ष दाबी पेश गरेका थिए ।

उता एमाले र जसपाको संसदीय दलको समर्थनसहित प्रधानमन्त्री केपी ओलीको पनि दाबी परेको थियो । तर, मध्यरातमा राष्ट्रपति भण्डारीले दुवै दाबी पत्रहरु खारेज गर्दै मन्त्रीपरिषद्को सिफारिसमा प्रतिनिधिसभाको विघटन गरेकी थिइन् । प्रतिनिधिसभाको विघटनसँगै पहिलो चरणको चुनाव कात्तिक २६ गते र दोश्रो चरणको चुनाव मंसिर ३ गते गर्ने घोषणा समेत गरिएको छ ।