मन्त्रिपरिषदको बैठकले गर्यो यस्तो निर्णय

मन्त्रिपरिषदको बैठकले गर्यो यस्तो निर्णय

काठमाडौं । सरकारले जन्मसिद्ध नागरिकका सन्तानलाई आमाबावु दुवै नेपाली नागरिक भए वंशजका आधारमा नागरिकता दिने निर्णय गरेको छ। बिहिबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो व्यवस्था सहितको अध्यादेश ल्याउने निर्णय गरेको जानकारी प्रधानमन्त्रीले आफ्नो नेतृत्वलाई  गराएको जसपाका नेता सुरेन्द्र झाले बताए।

'आज बसेको मन्त्रिपरिषद बैठकले जन्मसिद्ध नागरिकका सन्तानले बावुआमा दुवै नेपाली नागरिक रहेछन् भने वंशजका आधारमा नागरिकता पाउने गरि अध्यादेश ल्याउने निर्णय भएको हाम्रा नेतालाई प्रधानमन्त्रीले जानकारी गराउनु भएको छ’, उनले भने, 'सरकारले गरेको निर्णय सकारात्मक छ। ४-५ लाख भन्दा बढी नागरिकहरू नागरिकता बिहिन भएका थिए। उनीहरूका लागि अब नागरिकता सहज हुने भएको छ। यो निर्णयले सरकार र जसपाको सम्बन्ध थप नजिक बनाएको छ।'

आजको मन्त्रिपरिषद बैठक लगत्तै जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बालुवाटार पुगेका थिए। त्यहीँ उनीहरूले यस्तो जानकारी पाएको नेता झाले बताए। उनले भने, ‘हामीले उठाएको नागरकिता सम्बन्धी महत्वपर्ण माग पुरा भएको छ।फिर्ता लिन बाँकी मुद्धाहरुपनि फिर्ता भएको भन्ने सुन्नमा आएको छ।यो पनि अर्को सकरात्मक काम हो।’

संविधानको धारा ११ को उपधारा (३) मा  संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने उल्लेख छ। 

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले ठाकुर र महतोलाई संविधानको धारा ७६ को उपधार ५ अन्तर्गतको सरकारका लागि सहयोग गर्न आग्रह गरेका थिए। ठाकुर र महतोले आफूहरूले उठाएका मागलाई सम्बोधन गर्न बाँकी नै रहेको जवाफ दिएका थिए। जसपाले संविधान संशोधनका लागि शक्तिशाली कार्यदल गठन र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने शर्त राख्दै आएको छ।