अफवाहपूर्ण सामग्री सम्प्रेषण गरेको भन्दै दर्ता नभएका ३८ वटा साइट बन्द, ६५ अनलाइनले तोडे आचारसंहिता

अफवाहपूर्ण सामग्री सम्प्रेषण गरेको भन्दै दर्ता नभएका ३८ वटा साइट बन्द, ६५ अनलाइनले तोडे आचारसंहिता

प्रेस काउन्सिल नेपालले निषेधाज्ञाको समयमा ६५ सञ्चारमाध्यमले आचारसंहिता उल्लंघन गरेको बताएको छ । बैशाख १६ गतेदेखि आजसम्मको अवधिमा ती सञ्चारमाध्यमले आचारसंहिता तोडेका हुन् ।

पत्रकार आचारसंहितासम्बन्धी उजुरी अनलाइनमार्फत् दिन सकिने व्यवस्था गरिएकोमा उक्त अवधिमा भएका अनुगमन र कारबाहीसम्बन्धी मुख्य ६५ सञ्चारमाध्यम,वेभपोर्टलमा आचारसंहिता उल्लंघन भएको देखिएको बताइएको छ ।

निषेधाज्ञाको अवधिमा कोरोना संक्रमणभन्दा फरक विषयमा दुई मिडियासँग जवाफ मागिएको र तीन मिडियासँग स्पष्टिकरण सोधिएको छ । त्यस्तै,भ्रमपूर्ण, अफवाहपूर्ण सामग्री सम्प्रेषण गरेको भन्दै दर्ता नभएका ३८ वटा साइट बन्द गरिदिन सम्वन्धित निकायलाई पत्राचार गरिएको काउन्सिलको विज्ञप्तिमा उल्लेख छ ।

उक्त अवधिमा ९ वटा सञ्चारमाध्यमविरुद्ध उजुरी दर्ता भएको र सोसम्बन्धी कारबाही प्रक्रिया अगाडि बढाइएको थियो ।
काउन्सिलले निरन्तर सञ्चारमाध्यमको अनुगमन गरिरहेको र कोरोना संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञाको समयमा पनि कडाइका साथ काम गरिरहेको बताइएको छ ।