मोरङमा चिकित्सकमाथि कुटपिट

मोरङमा चिकित्सकमाथि कुटपिट

मोरङ । दुर्घटनामा घाइते भएका बिरामीको उपचारमा ढिलाइ गरेको भन्दै विराट शिक्षण अस्पताल बुढीगंगाका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई दुई युवाले कुटपिट गरेका छन् ।

अस्पतालको आकस्मिक कक्षमा खटिएका चिकित्सक डा सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतलाई उनीहरुले कुटपिट गरेका हुन् । कुटपिटबाट दुवै जनाको टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेको विराट अस्पतालका चिकित्सक डा सुनिल देवले बताए ।

जिल्ला प्रहरी मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार बुढीगंगा गाउँपालिका–२ का २८ वर्षीय निश्चल श्रेष्ठ, २५ वर्षीय निमेश श्रेष्ठले कुटपिट गरेका छन् । दुवै जनालाई नियन्त्रणमा लिइ घटनाको अनुसन्धान भइरहेको उनले बताए ।

दुर्घटनामा घाइते एक वृद्धाको उपचारमा चिकित्सकले लापरबाही गरेको आक्रोशमा युवाहरुले उनीहरुलाई कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको राईले बताए ।