माओवादी पृष्ठभूमिका नेताको व्यवस्थापनबारे शंकर पोखरेलले दिए यस्तो प्रतिक्रिया

माओवादी पृष्ठभूमिका नेताको व्यवस्थापनबारे शंकर पोखरेलले दिए यस्तो प्रतिक्रिया

काठमाडौं ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले माओवादी आन्दोलनसँग जोडिएका नेता–कार्यकर्तालाई पार्टी एकताको भावनाअनुसार नै एमालेमा सहजरुपमा व्यवस्थापन गरिनुपर्ने बताएका छन्।

जननेता मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको २८औँ स्मृति दिवसका अवसरमा आज मदन भण्डारी फाउन्डेशनद्वारा भर्चुअलरुपमा आयोजित ‘समकालीन विश्व परिस्थिति र माक्र्सवादको सान्दर्भिकता’ विषयक जननेता भण्डारीको कोलकोतामा प्रस्तुत कार्यपत्र (पुस्तक)मा आधारित अन्तरक्रियामा पोखरेलले एमालेभित्रको विवादको समाधान कार्यदलमार्फत हुने स्पष्ट गरे ।

एमालेभित्रको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको सहमतिमा गठित कार्यदलका सदस्य पोखरेलले ‘जनताको बहुदलीय जनवाद’ को मार्गदर्शनमा रहेर यसलाई अझ विकास गर्दै समृद्धिको यात्रामा पार्टी र सरकारको नेतृत्व सफल हुने विश्वास व्यक्त गर्नुभयो । विश्वमा क्रान्तिपछिको रुपान्तरणमा समाजवादी पार्टीमा अलमल देखिने भए पनि नेपालका सन्दर्भमा उपयुक्तरुपमा क्रान्तिका कार्यभार पूरा गर्न जबज सार्थक रहेको उनले टिप्पणी गरे ।

“एकैपटक समाजवादी कार्यक्रम कि पूँजीवादी क्रान्तिको उपचरण हुँदै समाजवादको यात्रा भन्ने सन्दर्भमा कम्युनिष्ट आन्दोलनमा हाल दुईथरी धारणा देखिए पनि राष्ट्रिय अर्थतन्त्रको विकास गर्दै क्रमशः समाजवादमा जाने वर्तमान सरकारको सोच र कार्यक्रम उपर्युक्त छ”, उनले भने, “एमाले संशोधनवादको विरोधी पार्टी हो तर हामी उग्र क्रान्तिकारितामा पनि विश्वास गर्दैनौँ ।”