शपथका क्रममा ‘त्यो पर्दैन’भन्न मिल्दैन– बाबुराम भट्टराई

शपथका क्रममा ‘त्यो पर्दैन’भन्न मिल्दैन– बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहरणका क्रममा गरेको आचरण पद अनुकुल नभएको टिप्पणी गरेका छन्। 

शुक्रबार केपी शर्मा ओलीले प्रधानमन्त्रीको रुपमा शपथ लिने क्रममा केही शब्द पर्दैन भन्दै भन्न अस्वीकार गरेका थिए।  ‘म केपी शर्मा ओली, मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति विद्या भण्डारीले शपथ गराउँदा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने मात्र उच्चारण गरेका थिए। 

प्रधानमन्त्री ओलीले छुटाएको उक्त वाक्यांश राष्ट्रपति भण्डारीले दोहोर्‍याएर वाचन गरेकी थिइन् तर ओलीले ‘यो पर्दैन’ भन्दै शपथ अगाडि बढाए। उनको त्यस्तो जवाफ सुनेर राष्ट्रपति हाँसेर टारेकी थिइन्। जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। 

पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले प्रतिज्ञा गर्छु भन्ने पदावली शपथ ग्रहणको मुख्य अंश भएको भन्दै ‘त्यो पर्दैन’ भन्न नमिल्ने र राष्ट्राध्यक्षलाई त्यसरी अवज्ञा गर्न नमिल्ने बताएका हुन्। 

सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्,‘ओलीले शपथग्रहणको क्रममा गरेको आचरण गरिमामय पद अनुकुल भएन।पहिलो,’प्रतिज्ञा गर्छु’भन्ने पदावली शपथग्रहणको मुख्य अंश हो ‘त्यो पर्दैन’भन्न मिल्दैन१दोश्रो,राष्ट्राध्यक्षलाई त्यसरी अवज्ञा गर्न मिल्दैन१’ उनले भनेका छन्।