महन्थ–राजेन्द्र पक्ष तत्काल सरकारमा नजाने, माग पुरा भए ओलीलाई विश्वासको मत दिने

महन्थ–राजेन्द्र पक्ष तत्काल सरकारमा नजाने, माग पुरा भए ओलीलाई विश्वासको मत दिने

केपी शर्मा ओलीलाई पुनः प्रधानमन्त्री बनाउन निर्णायक भूमिका खेलेको जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष तत्काल सरकारमा सहभागी नहुने भएको छ। जसपाको कार्यकारिणी समितिका सदस्य केशव झाका अनुसार प्रधानमन्त्री ओलीले सरकारमा सहभागिताको लागि बिहीबार नै प्रस्ताव गरेका थिए।

दुई वा दुईभन्दा बढी दल मिलेर बहुमत सरकारको दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा हिजो बेलुका सकिएको थियो। हिजोसम्म कांग्रेस नेतृत्वमा बहुमत सरकारको दाबी गर्ने विपक्षी गठबन्धनको योजना विफल पार्न महन्थ–राजेन्द्रले हिजो बिहीबार आफू पक्षका १४ सांसदलाई भक्तपुरको एक रिसोर्टमा राखेका थिए।

जसपा विभाजित र नेकपा एमालेको असन्तुष्ट माधवकुमार नेपाल पक्षले समेत ओलीलाई साथ दिने भएपछि कांग्रेस र माओवादी केन्द्र बहुमत सरकारको दाबी गर्नबाट रोकिएका थिए।

बहुमत दाबी गर्न कांग्रेस र माओवादी रोकिएपछि बिहीबार साँझ ६ देखि ७ बजेसम्म महन्थ र राजेन्द्रको बालुवाटारमा छलफल भएको थियो।

‘मैले संसदमा ठूलो दलको हैसियतमा भोलि शपथ लिँदैछु, तपाईंको तर्फबाट मन्त्रीहरुको सूची दिनुस् र भोलि नै शपथ गरौं,’ ओलीले ठाकुरसँग राखेको प्रस्ताव उद्धृत गर्दै झाले भने।

जवाफमा महन्थले भनेका थिए, ‘ अहिलेलाई तपाईंसँगै शपथ लिने स्थिति भएन, पहिला बाँकी रहेका हाम्रा माग मुद्दा सम्बोधन गर्नुस्।’

स्रोतका अनुसार जसपाका ८ देखि १० जनालाई मन्त्री बनाउने प्रधानमन्त्री ओलीले प्रतिवद्धता जनाएका छन्।

‘८–१० जनालाई मन्त्री बनाउने कुरा भएको छ,’ जसपा स्रोतले दाबी गर्‍यो।

प्रधानमन्त्रीले जसपाका बाँकी रहेका माग शपथ गरेको दुई–चार दिनमै पुरा गर्ने आश्वासन दिएको महन्थले आफ्ना सांसदसँग ब्रिफिङ गरेका थिए।

शपथ गरेको दुई–चार दिनमा बाँकी मागको सम्बोधन हुन्छ,’ महन्थ–राजेन्द्रसँग ओलीले दिएको आश्वासन उद्धृत गर्दै झाले भने।
जसपाको एक पक्षले केही दिन कुर्ने बताएपछि संभवतः ओलीले आज गर्ने मन्त्रिमण्डलमा जसपाबाट कोही सहभागी हुने छैनन्।
माग पुरा भए महन्थ पक्षबाट ओलीलाई विश्वासको मत

दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतको सरकार गठन हुन नसकेपछि संसदमा रहेको सबैभन्दा ठूलो दलको रुपमा प्रधानमन्त्री बनेका ओलीले आजको मितिले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।

तर, अहिलेको सत्तासमीकरणलाई आधार मान्दा ओलीलाई विश्वासको मत पाउन जसपाको महन्थ–राजेन्द्र पक्ष नै फेरि पनि निर्णायक बन्दैछ। १६ सांसद रहेको सो पक्षका सांसदहरुले मत दिए ओलीले संसदमा विश्वासको मत पाउने छन्।

नेकपा एमालेका सबै सांसद एक ढिक्का रहँदा १ सय २१ सांसद छन्। अहिलेको संसदमा रहेको कूल संख्याका आधारमा ओलीलाई बहुमत पुग्न १ सय ३८ सांसदको आवश्यक पर्छ। जसपाको एउटा पक्षमात्र मिलेको अवस्थामा ओलीले १ सय ३७ मत पाउँछन्।

राप्रपा र नेपाल मजदूर किसान पार्टी पनि ओलीकै पक्षमा खुल्ने देखिएकोले उनले आरामदायी बहुमत पुर्‍याउने देखिन्छ।
यसअघि बैशाख २७ गते ओलीले मागेको विश्वासको मतमा भने महन्थ–राजेन्द्र पक्षका १५ सांसद तटस्थ रहेका थिए।

‘प्रधानमन्त्रीले दिएको आश्वासनअनुसार हाम्रो मुद्दा सम्बोधन भयो भने अब उहाँलाई विश्वासको मत दिन्छौं,’ जसपाका नेता झाले भने, ‘त्यसका लागि पार्टीको बैठक राखेर निर्णय पनि गराउँछौं।’

जसपाको उपेन्द्र यादव– डा बाबुराम भट्टराई नेतृत्वको समूह भने ओलीको बहिर्गमनको पक्षमा छ।
वैशाख २७ गतेको मतदानमा यादव–भट्टराई पक्षले ओलीको विपक्षमा मतदान गरेको थियो।