काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली सेनाको सुरक्षा शिविरबाट सार्वजनिक भएका छन्।
२४ भदौमा जेनजी आन्दोलनको दोस्रो दिन भएको हिंसात्मक प्रदर्शन, तोडफोड तथा आगजनीपछि एक साताबढी नेपाली सेनाको कडा सुरक्षा घेरामा रहेका ओली गुन्डुस्थित भाडाको घरमा बस्नेछन्।
आन्दोलनकारीले बालकोटस्थित निजी निवासमा आगजनी गरेपछि शिवपुरीबाट फर्केका ओलीलाई युवासंघका कार्यकर्ताको सुरक्षा व्यवस्थासहित गुन्डुमा बसोबास व्यवस्था मिलाइएको एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले बताए।
अध्यक्ष ओली संविधान दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा सम्बोधन गर्नेगरी शुक्रबार बिहान बालकुमारीमा उपस्थित हुने कार्यक्रम छ । ओलीलाई गुन्डुदेखि बालकुमारीसम्म युवासंघले स्कर्टिङ गरी लैजाने युवासंघका नेताले तयारी गरेका छन्।