बाबुरामले पनि देउवालाई साथ नदिने संकेत, राखे नयाँ प्रस्ताव

बाबुरामले पनि देउवालाई साथ नदिने संकेत, राखे नयाँ प्रस्ताव

काठमाडौं । नयाँ सरकारको नेतृत्वको लागि तीन दलको पूर्ण समर्थन खोजिरहेको कांग्रेस सभापति शेरबहादुर देउवालाई जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले पनि साथ नदिने संकेत गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले बुधवार बिहान ट्वीट्मार्फत यस्तो संकेत गरेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि सोमवार दलहरूलाई दिएको तीन दिनको समय भोलि सकिँदैछ। यसको पूर्वसन्ध्यामा नेपाली कांग्रेसले मंगलवार पदाधिकारीको बैठक डाकेर जसपाको पूर्ण समर्थन खोजेको थियो। कांग्रेस सभापति देउवाको नेतृत्वमा सरकार निर्णमका लागि सम्पूर्ण रुपले प्रयत्न गर्ने बैठकले निर्णय गरेको थियो।

जसपामा बाबुराम र उपेन्द्र यादवको साथ कांग्रेसलाई रहेको देखिए पनि अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले साथ नदिने बताइसकेका छन्। यस्तो बेला जसपाको पूर्ण समर्थन पाए नयाँ सरकार गठन गर्ने सुरका साथ अघि बढेको कांग्रेसलाई बाबुरामले चार सुझाव पेश गरेका छन्।

उनले देशको संकट हल गर्न पूर्व प्रधानमन्त्रीबाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेका छन्। उक्त सरकार सञ्चालनका लागि दलका प्रमुख तथा पूर्वप्रमुख रहेको निर्देशक समितिसमेत बनाउन प्रस्ताव गरेका छन्। वर्ष दिनभित्र चुनाव गर्ने र कोभिड-नियन्त्रणजस्ता कार्यक्रम नयाँ सरकारले ल्याउनुपर्ने उनको सुझाव छ।