संकटमा भासिएपछि गुहार माग्दै ओली

संकटमा भासिएपछि गुहार माग्दै ओली

ओलीको त्यो निमन्त्रणा आकस्मिक थियो। ओलीबाट जतिबेला पनि बोलावट हुन सक्नेमा चनाखा सुवास नेम्वाङलगायतका नेताहरु तत्कालै बालुवाटार पुगे।

कारण के होरु त्यसमा अनविज्ञ हुँदा खासै फरक पर्थेन उनीहरुलाई। भेट्नासाथ ओलीले आफूसँग बुढानिलकण्ठ जानु पर्ने प्रस्ताव गरे। ओलीको प्रस्तावलाई निर्देशनको रुपमा बुझ्ने गरेको छ नेम्वाङको टोलीले। त्यतिञ्जेल ओलीले आफै फोन गरेर विपक्षी कांग्रेस सभापति शेरबहादुर देउवासँग समय लिन भ्याइसकेका थिए।

अघिल्ल्लो दिन आफूसँग असन्तुष्ट माधवकुमार नेपाल, उपेन्द्र यादव र पुष्पकम कमल दाहाल ‘प्रचण्ड’ले देउवालाई भेटेको इवी पक्कै साँचेका थिए उनले। ओलीको टोली देउवा निवासतिर हुँइकिन धेरै बेर लगाएन। त्योसँगै ओलीले प्रधानमन्त्री भएपछि पहिलोपटक देउवा निवासको दैलो ढकढकाएका थिए। अर्थात आपत परेपछि मात्रै देउवा निवासलाई विकल्प बनाएका थिए ओलीले ।

यो अभ्यास उनले यसअघि नै स्थापित गरिसकेका छन्। संसद विघटन गर्नुभन्दा एक दिन पहिले उनी प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए। मन्त्रीहरुलाई फकाउन उनीहरुका सरकारी निवास पनि पुगेका थिए। ओलीले आफ्ना नेताहरुलाई ल्याउँछु भनेपछि देउवा पनि आफ्नो टिमसँग भेट गर्न तयार थिए बुढानिलकण्ठमा।

जहाँ ओलीले आफूलाई विश्वासको मतका लागि बिन्ती गरे। अनि वास्तवमै चुनावमा जान चाहे त्यो पनि विकल्प भएको सुनाए। तर आफूले विश्वासको मत नदिने देउवाले सुनाएपछि ओलीको टिम निराश फर्कियो। नेपाल पक्षले आफूलाई साथ नदिने निष्कर्षमा पुगेपछि देउवालाई हात जोड्न पुगेका थिए ओली। कारण, त्यसै दिन आफू जेठ २ मा नफर्किए नेपाल पक्षका सांसदहरुले सामूहिक राजीनामा दिनेबारे छलफल गरिरहेको सूचना बाहिरिएको थियो।

बिहीबार बालुवाटारमा उनी पक्षीय नेताहरुको भेला भयो। यस्तो भेलालाई ओलीले नेकपा एमाले स्थायी कमिटी बैठक भन्दै आएका छन्। बैठकमा आगामी जेठ ६ गते हुन लागेको निर्वाचनमा आफ्ना जित सुनिश्चिततामा केन्द्रीत भएको पार्टी प्रवक्ता तोकिएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सार्वजनिक जानकारी दिए।

तर भित्र नेपाल पक्षमाथि गरेको कारवाही फुकुवा गरे उनीहरुले आफ्नो विश्वासको मतमा साथ दिनेबारे गहिरो छलफल भयो। झण्डै झण्डै नेपाल पक्षका नेपालसहित चार नेतालाई गरिएको निलम्बनलगायत कारवाहीबाट पछि हट्ने निर्णय भएको थियो उक्त बैठकमा। तर स्रोतका अनुसार ओली आफै पछि हटेका थिए। उनले भनेका थिए,‘ यसमा अझै विचार गरौँ। हतार गर्ने छुट हामीलाई छैन।’ त्यसलगत्तै उनी यसै विषयमा छलफलका लागि राष्ट्रिपति निवासतिर हुँइकिएका थिए। ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच लामै छलफल भएको थियो।

त्यसलगत्तै ओलीले आफ्ना विश्वासपात्र अर्थमन्त्री विष्णु पौडेललाई एकताका लागि प्रयास गर्न निर्देशन दिएका थिए। विष्णु पौडेल र नेपाल पक्षका घनश्याम भुसाल, सुरेन्द्र पाण्डेबीच दिउँसो चाढे चार बजे होटल मेरिअटमा छलफल भएको थियो। बाहिर दोस्रो तहका नेताहरु एकताका लागि सक्रिय भएको सन्देश जाँदै गर्दा भित्र त्यसको चाँजोपाँचो ओलीले नै मिलाएका थिए।

यसअघि नेकपामा पटकपटक चुलिएका विवाद सुल्झाउन पौडेलले सक्रिय भएको देखाउँथे। प्रचण्डका विश्वास पात्र अग्नि सापकोटालाई सभामुख बनाउनु पर्ने पक्षमा आफू रहेको भन्दै ओलीविरुद्धको मोर्चा निर्माणमा पनि उनले सघाएका थिए। तर अन्तिममा उनले ओलीलाई रोजेका घटना छन्।

तर पौडेल, पाण्डे र विष्टबीच मेरिअटमा छलफल चल्दै गर्दा नेता नेपाल बुढानिलकण्ठ हानिएका थिए, देउवालाई भेट्न, पौने ६ बजे। नेपालले करिव एक घण्टा देउवासँग बिताएका थिए। त्यो बेला ओलीले मन्त्रिपरिषद् बैठक डाके। उनले अब कि २७ गते निर्धारित संसद अधिवेशन पर धकल्छन् कि दल विभाजन सम्बन्धी अध्यादेश ल्याउँछन् भन्ने अड्कलबाजी तीव्र बन्यो।

तर पराष्ट्रमन्त्री ज्ञवालीले बैठक कोरोना नियन्त्रणमा मात्रै केन्द्रीत भएको सुनाए। ज्ञवालीबाट बैठकका निर्णयहरु जानकारी गराउँदै गर्दा नेपाल शीतल निवास छिरेका थिए। स्रोतका अनुसार ७ः२५ बाट राष्ट्रपति भण्डारी र नेपालबीच संवाद सुरु भएको थियो। त्यसले राती १० बजेर ५ मिनेटसम्म निरन्तरता पायो। त्यसपछि राष्ट्रपति भण्डारीले नेपाल र ओलीलाई पनि सँगै राखेर सहमतिको प्रयास गरेको चर्चा छ। तर त्यसको पुष्टि हुन सकेको छैन। एमाले एकताका लागि सबै प्रयासहरु सुरु भएपनि हालसम्म ओली र नेपालबीच सहमति भएकोबारे आधिकारिक जानकारी आउन सकेको छैन। नेताहरुले यी बैठकहरुबारे सूचना चुहाउन चाहिरहेका छैनन्, दुवै पक्षबाट।

ओलीको सक्रियता किन एकाएक बढ्यो ?
ओलीले नेपाल पक्षसहित विपक्षीहरुको चर्को दबाब परेको छ ओलीमाथि राजीनामा दिन। तर हार अस्वीकार गर्दै आएका ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरेका छन्। त्यसको समय आउन चार दिन बाँकी छ। उनलाई विपक्षीमा माओवादी र कांग्रेसले मत नदिने निश्चत छ। विश्वासको मत दिनुपर्ने अवस्था आएमा जसपा विभाजित हुने निश्चित छ।

तर नेपाल पक्षको मत बिना ओलीले सत्तामा निरन्तरता नपाउने निश्चित छ। त्यसैले अन्तिम विकल्पका रुपमा ओलीले आफैले अपमान गरेका नेपाल पक्षलाई फकाउने तीव्र प्रयास गरेका छन्। त्यसका लागि राष्ट्रपतिदेखि दोस्रो तहका नेताहरुलाई गुहारेका छन्। यसअघि वैशाख ८ र ९ गते नेपालसँग एक्लै वार्ता गरेका ओलीले त्यसमा मिल्ने संकेत नपाएपछि बिहीबार राष्ट्रपतिलाई नेपाललाई बोलाएर फकाउन अनुरोध गरे। भण्डारी पनि आफ्नो पदीय मर्यादा भुलेर पार्टी विवादमा घुसेकी छन्। वास्तवमा ओली संकटमा पर्नासाथ भण्डारीले आफ्नो मर्यादा र दायित्व दुवै भुल्दै आएकी छन्।