चितवनमा निषेधाज्ञा लगाउने तयारी, सक्रिय संक्रमितको संख्या ५०० नाघ्यो

चितवनमा निषेधाज्ञा लगाउने तयारी, सक्रिय संक्रमितको संख्या ५०० नाघ्यो

चितवन । चितवनमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५०० नाघेको छ। आज (बुधबार) दिउँसोसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या ५८५ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

तीमध्ये ५३९ जना संक्रमित होम आइसोलेसनम छन् भने ४६ जना संक्रमित मात्रै अस्पताल आइसोलेसनमा छन्। पछिल्लो २४ घण्टामा जिल्लामा १३४ जना नयाँ संक्रमित थपिएका छन्। संक्रमितको मृत्यु भने हुन पाएको छैन।

सक्रिय संक्रमित पाँच सय नाघेसँगै जिल्लामा निषेधाज्ञा लगाउने तयारी गरिएको छ। जिल्लामा बढी भिडभाड हुने क्षेत्रको पहिचान गरेर क्षेत्रगत रूपमा निषेधाज्ञा लगाउने तयारी भइरहेको स्वास्थ्य कार्यालय चितवनका वरिष्ठ जनस्वास्थ्य अधिकृत दिपक तिवारीले बताए।

पहिलाको जस्तो पूरै जिल्ला ठप्प हुने गरी लकडाउन गर्न सांसदहरु तयार नरहेको भन्दै उनले प्रभावित क्षेत्रगत रुपमा मात्रै निषेधाज्ञा गर्नेगरी रणनीति बनेको बताए।

‘बढी भिड हुने क्षेत्रहरु पार्टी प्यालेस र विद्यालय बन्द भइसकेका छन्। यस्तैगरी अन्य भिड हुने क्षेत्रहरुमा पनि निषेधाज्ञा गर्दै जाने सुझाव आएको छ’, उनले भने, ‘कहाँ–कहाँ भिड हुन्छन्, त्यो हेरेर गरिखाने नागरिक पनि नमर्ने र रोकथाम पनि यथेष्ट हुने गरी छलफल अगाडि बढेको छ।’