भारतबाट फर्किएकी महिलाको मृत्युपछि डोटीमा गाउँ सिल

भारतबाट फर्किएकी महिलाको मृत्युपछि डोटीमा गाउँ सिल

काठमाडौं । भारतबाट फर्किएकी एक महिलाको मृत्यु भएपछि डोटीमा एक गाउँ नै सिल गरिएको छ। भारतबाट फर्किएर होम आइसोलेसनमा बसेकी शिखर नगरपालिका–१ तेछाडा गाउँ कि २८ वर्षीया जानकी नागरीको मृत्यु भएपछि गाउँ नै सिल गरिएका हो।

केही दिन पहिले भारतबाट काम गरी गाउँ फर्किएकी नागरीको कोरोनाका कारण मृत्यु भएको हुनसक्ने भन्दै उक्त गाउँ सिल गरिएको वडाअध्यक्ष खडकबहादुर शाहीले विज्ञप्ति जारी गर्दै जानकारी दिए।

गाउँको पूर्वतिरको गणेश नेगीको पसल, पश्चिम ढल्कना, उत्तरतीर चौपाता पिपल तथा दक्षिणतिर धौल्याल खोलासम्म सिल गरिएको विज्ञप्तिमा उल्लेख छ। बैशाख २० गते सम्म उक्त गाउँबाट अर्को गाउँ जान तथा अर्को गाउँबाट उक्त गाउँमा आवतजावत गर्नमा  बन्देज गरिएको छ।

जिल्लामा पछिल्लो समय भारतबाट काम गरी घर फर्किएका नागरिक आउने क्रम बढ्नुका साथै उनीहरु क्वारेन्टाइन नबसी सीधै गाउँ जान थालेका कारण गाउँमा कोरोना सङ्क्रमण बढ्ने भन्दै स्थानीयबासीमा त्रास फैलिएको छ।