काठमाडौं उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा : केके खुल्‍ने, केके बन्द हुने ?

काठमाडौं उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा : केके खुल्‍ने, केके बन्द हुने ?

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा १६ वैशाखदेखि निषेधाज्ञा लगाउने निर्णय भएको छ। सोमबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो। निषेधाज्ञाको विस्तृत सूचना केहीबेरमा सार्वजनिक हुँदैछ।  निषेधाज्ञा अवधिभर अति आवश्यक बाहेकका सबै सेवा बन्द हुने छन्।

तीन जिल्लाका सिडीओहरूको निर्णय गृहमन्‍त्रालयबाट अनुमोदन भएपछि सार्वजनिक सूचना जारी हुनेछ। आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले काठमाडौं लगायतका सहरी क्षेत्रमा संक्रमणको जोखिम बढ्दै गएकाले निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको थियो।

अत्यावश्यकबाहेक सबै सेवा स्थगित हुनेछन्। सार्वजनिक र निजी यातायात बन्द हुनेछन्। अत्यन्त जरुरी नपरेसम्म बाहिर निस्कन नपाइने व्यवस्था गरिएको छ। तर एम्बुलेन्स, शव बाहन, प्रेसको गाडी चल्न पाउने भएका छन्। 

त्यसैगरी होटल तथा रेष्टुरेन्टले होम डेलिभर गर्न अनुमति दिने तयारी छ। बैंक तथा वित्तीय संस्थाले तोकिएको मापदण्ड पालना गरेर सिमित जनशक्तिमा काम गर्नुपर्ने व्यवस्था गरिएको छ। सरकारी कार्यालयले पनि मापदण्ड पालना गरेर खोल्न सकिने व्यवस्था मिलाइएको छ। खाद्यान्न, तरकारी, दूधलगायत दैनिक उपभोग्य वस्तु बिक्री गर्ने पसल हरेक दिन निश्चित समयसम्म खोल्न पाइने छ। 

विद्यालय, पार्टी प्यालेस, सिनेमा हल, सार्वजनिक सभा तथा जुलुसलगायतका भीडभाड हुने गतिविधिमा यसअघि नै सरकारले प्रतिबन्ध लगाइसकेको छ।