कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना, परिवारका सदस्य होम आइसोलेसनमा

कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना, परिवारका सदस्य होम आइसोलेसनमा

काठमाडौं । कोरोनाभाइरससँग लडिरहेका दिग्गज कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन् । छातीमा सामान्य समस्या देखिएपछि उनलाई शुक्रबार ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो । चिकित्सकको सल्लाहमा अस्पतालमा नै राखेर उपचार भइरहेको छ ।

“बुवा र म दुवै अस्पताल गएका थियौँ । मलाई सामान्य खोकी मात्रै लागेकोले डिस्चार्ज गर्नुभयो । तर, ड्याडीको छातीमा सामान्य इन्फेक्सन देखिएकोले भर्ना नै गर्नुभयो । फेरि, उमेरले पनि किन जोखिम मोल्नु भनेर उतै राखेर उपचार गर्ने भनेर राख्नुभयो,” छोरी सराना श्रेष्ठले बताइन् ।

परिवारका बाँकी सदस्यहरु छोरा यमन, छोरी सराना र बुहारी रिंकु होम–आइसोलेसनमा छन् । “एकदमै गाह्रो हुनेरहेछ । ज्वरो त छँदै छ, खोकी लागिरहेको छ । ढाड दुख्नेरहेछ, हिँड्न पनि नसक्ने, बोल्न पनि नसक्ने, खाना पनि नरुच्ने, साहै गाह्रो हुँदोरहेछ,” सरानाले पीडा सुनाइन् । मदनकृष्ण अस्पतालमा भए पनि आत्तिहाल्नुपर्ने अवस्था नरहेको उनले जानकारी दिइन् ।

मदनकृष्णले वैशाख ६ गते फेसबुकमार्फत आफूलगायत परिवारलाई कोरोना पुष्टि भएको जानकारी गराएका थिए ।