विद्यालय बन्द नगर्ने शिक्षा मन्त्रालयको निर्णय

विद्यालय बन्द नगर्ने शिक्षा मन्त्रालयको निर्णय


काठमाडौं। शिक्षा मन्त्रालयले विद्यालय बन्द नगर्ने निर्णय गरेको छ । शुक्रबार मन्त्रालयमा बसेको सरोकारवालाहरूको बैठकपछि मन्त्रालयले विद्यालय बन्द नगर्ने निर्णय गरेको हो । 

मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्डमा कडाइ गर्ने निर्णय पनि गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । कोरोनाको संक्रमणको अवस्थालाई हेरेर स्थानीय तहसँगको समन्वयमा भने विद्यालय बन्द हुनसक्ने उनको भनाइ छ ।

यसअघि पनि मन्त्रालयले सरोकारवालाहरूसँग छलफल गरेको थियो । उक्त छलफलमा सहभागीहरूले पनि विद्यालय बन्द गर्न नहुने धारणा राखेको थिए ।

यता स्वास्थ्य मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै अति प्रभावित १४ जिल्लाका विद्यार्थीलाई विद्यालय नजान र भिडभाड हुने क्षेत्र र क्रियाकलाप बन्द गर्न अपिल गरेको थियो ।