बोइलर कुखुराको मासुमा नयाँ रेकर्ड, किलोको ४ सय रुपैयाँ नाघ्यो

बोइलर कुखुराको मासुमा नयाँ रेकर्ड, किलोको ४ सय रुपैयाँ नाघ्यो

काठमाडौं । पछिल्लो समय कुखुराको मासुको मूल्य बढ्दै गएको छ। बजारमा कुखुराको अभाव भएपछि मूल्य बढ्न थालेको व्यवसायीहरू बताउँछन्। लकडाउनमा प्रतिकिलो १ सय ८० रूपैयाँसम्म झरेको कुखुराको मासुको मूल्य अहिले ४ सय १३ रूपैयाँ पुगेको छ।

बजारमा कुखुरा मासुको माग बढेपछि मूल्य बढ्दै गएको भ्याली कोल्ड स्टोरका सञ्चालक हरिकृष्ण रावलले जानकारी दिए। उनका अनुसार विगत २–३ दिन देखि बजारमा कुखुराको मासु प्रतिकिलो ४ सय १३ रूपैयाँ पुगेको हो। यस अघि ३ सय ९८ रूपैयाँ कायम थियो।

पहिलो पटक कुखुराको मासु प्रतिकिलो ४ सय १३ रूपैयाँ पुगेको उनी बताउँछन्।   ‘कुखुराको मासुको मूल्य अहिलेसम्म यति पुगेका थिएन, यो पहिलो पटक  हो,’ उनले भने। बजारमा उत्पादन कम हुनु र भएका उत्पादनमा पनि वर्डफ्लु तथा अन्य भाइरसका कारण नष्ट गरिएको हुँदा मूल्य बढेको हो।

अहिले काठमाडौंमा ज्युँदो कुखुराको मूल्य प्रतिकेजी २ सय ८० रहेको कुखुरा उत्पादक संघका अध्यक्ष झनक पौडेलले जानकारी दिए। त्यस्तै, तराईमा भने प्रतिकेजी २ सय ६० रूपैयाँ तोकिएको छ।