६३ अङ्कको वृद्धिसँगै शेयर बजारमा हरियाली, झण्डै ६ अर्ब रुपैयाँको कारोबार

६३ अङ्कको वृद्धिसँगै शेयर बजारमा हरियाली, झण्डै ६ अर्ब रुपैयाँको कारोबार

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार ६३ अङ्कभन्दा धेरैले बढेको छ । सबै समूहको शेयर उकालो लागेपछि नेप्से ६३ दशमलव ३८ अङ्कले बढेर २५ सय ३८ दशमलव ४६ विन्दुमा पुगेको हो ।

आइतबार बैंकिङ समूहको शेयर साढे २६ अङ्कले, व्यापार समूहको १३, होटल तथा पर्यटनको एक सय ५३, विकास बैंकको ४७, जलविद्युतको १३, फाइनान्स समूहको ६, माइक्रो फाइनान्स समूहको दुई सय २६, उत्पादनको एक सय ७२, अन्यको ५८, जीवन बीमा समूहको शेयर सात सय ४२, निर्जीवन बीमाको पाँच सय ६१ र लगानी समूहको शेयर एक दशमलव २५ अङ्कले बढेको छ ।

आइतबार दुई सय ६ कम्पनीका एक करोड २४ लाख ३० हजार कित्ता शेयर पाँच अर्ब ९१ करोड ९८ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै नेपाल बङ्गलादेश बैंकको ३९ करोड ९० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

स्वरोजगार, महिला र सूर्योदय लघुवित्त कम्पनीको शेयर मूल्य १० प्रतिशत र अन्य सात वटाको नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजारमा सुधार आए पनि ग्रीन लाइफ र खानीखोला हाइड्रो कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।