काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आज पदबहाली गरेका छन् । शाक्यले आज रत्नपार्कमा रहेको प्राधिकरणको केन्द्रीय कार्यालयमा १७औँ कार्यकारी निर्देशकका रुपमा पदबहाली गरेका हुन् । गत कात्तिक २६ देखि कायममुकायम (कामु) कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्नुभएका शाक्यलाई नेपाल सरकार मन्त्रिपरिषद्को माघ २६ को बैठकले कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
पदबहालीपछि आयोजना गरिएको बधाई तथा शुभकामना कार्यक्रममा शाक्यले उपभोक्तालाई गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रसारण र वितरण लाइनको सुदृढीकरण तथा विस्तार र मुलुकभित्र खपत गरी बढी भएको विद्युत् बिक्रीका लागि बजार खोज्ने काम आफ्नो मुख्य प्राथमिकता रहेको बताए ।
“आगामी चार वर्षभित्रमा प्रतिव्यक्ति ऊर्जा खपत ५०० युनिट पु-याउने, संस्थागत विकास योजनालाई अद्यावधिक गरी कार्यान्वयन गर्ने, निर्माणाधीन उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाको निर्माण सम्पन्न गर्ने र दूधकोशी, माथिल्लो अरुणजस्ता रुपान्तरणकारी आयोजनाको निर्माण अगाडि बढाइने छ”, उनले भने ।
विद्युत् चुहावट नियन्त्रण, विश्वसनीय विद्युत् वितरण प्रणालीका लागि प्रणालीको सुदृढीकरण तथा विस्तारका काम प्राथमिकताका साथ अगाडि बढाइने उनको भनाइ छ ।
‘लेऊ या तिर’(टेक अर पे)को शर्त राखी विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरिएका जलविद्युत् आयोजनाको बर्खाको विद्युत् बिक्री चुनौतीपूर्ण रहेको बताए । उनले आन्तरिकरुपमा खपत बढाउने र बढी भएको विद्युत् बिक्रीका लागि छिमेकी मुलुकसँगको व्यापार आफ्नो उच्च प्राथमिकता रहेको बताए ।