भारतको दिल्लीमा आगलागी हुदा नौ जनाको मृत्यु

भारतको दिल्लीमा आगलागी हुदा नौ जनाको मृत्यु

काठमाण्डौ : भारतको नयाँ दिल्लीमा सोमबार बिहान भएको आगलागीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । नयाँ दिल्लीको उत्तरपश्चिमी क्षेत्रमा पर्ने किरारीमा रहेको चार तले आवासीय भवनमा आगलागी हुदाँ नौ जनाको मृत्यु भएको हो । मृत्यु भएका मध्ये चार महिला र तीन बालबालिका रहेका छन् ।

आगो पूर्णरुपमा नियन्त्रणमा लिइसकेको र खोजी तथा उद्धार कार्य जारी रहेको बताईएको छ । घटनास्थलबाट घाइते अवस्थामा तीन जनालाई उद्धार गरिसकिएको छ । ती मध्ये एक जनाको शरीरमा १५ प्रतिशत जति जलेर घाइते भएका छन् । अन्य दुई जना भने सामान्य जलेको र उनीहरु सवैको उपचार भइरहेको अधिकारीहरुले बताएका छन् ।

रातको समयमा विद्युतको लाइनमा समस्या आएपछि सो आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । तर यथार्थ पत्ता लगाउन अनुसन्धान प्रक्रिया अगाडी बढाईसकिएको छ ।

भारतको केन्द्रीय राजधानी सहर नयाँदिल्लीमा यसै महिना भएको यो दोस्रो आगलागीको घटना हो । यसअघि डिसेम्बर ८ तारिखका दिन पनि नयाँ दिल्लीमा ठूलो आगलागीको घटना भएको थियो । सो घटनामा परी कम्तीमा ४३ जनाको मृत्यु भएको थियो । ( रा.स.स )