इराकमा जारी आन्दोलनमा चार सय ८५ जनाको मृत्यु

इराकमा जारी आन्दोलनमा चार सय ८५ जनाको मृत्यु

काठमाण्डौ : इराकमा अहिले भइरहेको आन्दोलनका क्रममा अहिलेसम्म कम्तीमा ४ सय ८५ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ । गत अक्टोबर देखि शुरु भएको आन्दोलनका क्रममा २७ हजारभन्दा बढी घाइते भएका अधिकारीहरुले जनाएका छन् ।

‘ह्युम्यान राईट्स वाचडग’ले शुक्रबार दिएको जानकारीअनुसार आन्दोलनका क्रममा भएका झडप भागदौड आदीका कारण उनीहरुको मृत्यु भएको हो । इराकी मानवअधिकार सम्वन्धी स्वतन्त्र उच्च आयोगका सदस्य अलि अल बैयातीले यो विवरणको पुष्टि गरेको हो । आन्दोलनका क्रममा भएका प्रदर्शनहरुमा २ हजार ८०७ जना पक्राउ परेका र ती मध्ये अझै पनि १ सय ७ जना हिरासतमा रहेका बैयातीले बताएका छन् ।

अपरिचित बन्दुकधारीहरुले आमनागरिक र आन्दोलनकारी गरी कुल ४८ जनालाई अपहरण गरेका बताईएको छ । इराकमा हत्या र अपहरण जस्ता घटना पछिल्लो समयमा बढ्दै गएको पाइएको छ । सरकार तथा भ्रष्टाचार विरोधी आन्दोलनमा सहभागी भएकाहरु, नागरिक अगुवाहरुलाई अपहरण गर्ने गरेको पाइएको उच्च आयोगका सदस्य बैयातीको भनाई छ ।

आयोगले बग्दाद र अन्य सहरहरुमा हत्या तथा अपहरणका घटना बढ्दै जानसक्ने भन्दै नागरिक अगुवा, आन्दोलनकारी र सर्वसाधारणलाई सचेतसमेत गराएको छ । सरकारको पुनर्गठनलगायत भ्रष्टाचार नियन्त्रण, रोजगारी सृजना, आर्थिक बृद्धि, सार्वजनिक सेवामा सुधार लगायतका माग राख्दै इराकमा आन्दोलन जारी रहेको छ । ( रा.स.स )