शुल्क असुल्न थालेपछि रित्तिए आइसोलेसन, गम्भीर अवस्थामा अस्पताल जानेको भने उस्तै चाप

शुल्क असुल्न थालेपछि रित्तिए आइसोलेसन, गम्भीर अवस्थामा अस्पताल जानेको भने उस्तै चाप

काठमाडौं । सुकुम्बासीलाई व्यवस्थापन गर्न बनाएको काठमाडौंको इचंगु नारायणको भवनमा कात्तिक २ गते ३ सय ९७ जना कोरोना संक्रमित आइसोलेसनमा बसेका थिए । बुधबार १४ जना मात्रै छन् । सरकारले कात्तिक २ मा आइसोलेसनमा बस्न चाहनेसँग पनि शुल्क लिन निर्देशन दिएपछि सर्वाङ्ग अस्पतालको निगरानीमा रहेको यो आइसोलेसनमा बस्न चाहनेले एक दिनको २ हजार तिर्नुपर्ने भयो । त्यसैले यो आइसोलेसन खाली छ । ४ सय ९८ जनासम्मको व्यवस्थापन भएको यो आइसोलेसनमा बुधबार संक्रमित संख्या १४ जना मात्रै छन् ।

‘शुल्क तिर्नुपर्ने भएपछि आइसोलेसनमा बस्न आउनेको संख्या नै कम भयो,’ सर्वाङ्ग अस्पतालका कार्यकारी निर्देशक सुशील खनालले भने, ‘शुल्क तिर्न नसक्नेलाई हामी स्वघोषणा फारममा हस्ताक्षर गराएर भर्ना गर्छौं तर संक्रमित आउनै छाडे ।’ सर्वाङ्ग अस्पतालमा पनि ५० जनाको क्षमता भएकामा ३ जना मात्रै भर्ना छन् । काठमाडौं उपत्यकामा दैनिक सरदर १ हजार ५ सय जनाभन्दा बढी नयाँ संक्रमित थपिइरहेका छन् । उनीहरूमध्ये आइसोलेसन सेन्टर पुग्ने न्यून छन् ।

घरमा आइसोलेसन बस्न नमिल्ने, लक्षण भएका तर अक्सिजन आवश्यक नपर्ने संक्रमितलाई स्थानीय तह र स्वास्थ्य मन्त्रालयले आइसोलेसन सेन्टर पठाउने गरेका थिए । सरकारको निर्णय कार्यान्वयन गर्ने भन्दै भक्तपुरको खरिपाटी आइसोलेसन सेन्टरबाहेक अन्यत्र शुल्क लिन थालेपछि संक्रमित अस्पताल जान छाडेका हुन् । वाग्मती प्रदेश मातहत रहेको भक्तपुर अस्पतालले भने प्रदेश सरकारको निर्णय कुरेर बसेको छ । सामाजिक विकासमन्त्री युवराज दुलालका अनुसार प्रदेश मन्त्रालय मातहतको अस्पतालमा उपचार निःशुल्क हुने घोषणा गरेपछि खरिपाटीको आइसोलेसनमा बस्नेलाई शुल्क लिन नसकिएको हो । खरिपाटी आइसोलेसन भक्तपुर अस्पताल मातहत राखिएको छ । दैनिक एक सयभन्दा बढी संक्रमित भर्ना हुने दहचोकका मनमोहन अस्पतालको आइसोलेसन मंगलबारदेखि खाली भएको छ ।

सरकारबाट अनुदान नपाउने भएपछि हामीले भर्ना लिनै छाडेका छौं,’ अस्पतालका कर्मचारी भुवन खकुरेलले भने, ‘अब यहाँ त आईसीयू र भेन्टिलेटर राखेर उपचार सुरु गर्ने छलफल भइरहेको छ ।’ १ सय ५० भन्दा बढी संक्रमितको व्यवस्थापन गरेको कीर्तिपुरको आयुर्वेद तालिम केन्द्रमा पनि ५५ जना मात्रै छन् । यहाँको आइसोलेसनमा बस्न चाहनेले २ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । ‘पहिला निःशुल्क रहेछ, अहिले दिनको २ हजार रुपैयाँ चाहिन्छ भनिरहेको छ,’ आइसोलेसन सेन्टरमा बसेका एक संक्रमितले भने, ‘भाडाको घरमा बस्थें । परिवार र घरमा अरूलाई नसरोस् भनेर म आइसोलेसन सेन्टरमा आएँ तर यता पैसा तिर्नुपर्ने रहेछ ।’

दुई दिनअघिसम्म भर्ना भएकालाई शुल्क लिने व्यवस्था गरेको भए पनि अहिले निःशुल्क आइसोलेसन सेवा दिइरहेको तालिम केन्द्रका डा. जितेन्द्र श्रेष्ठले बताए । ‘सरकारको निर्णय कार्यान्वयन गर्न हामीले पनि भर्ना भएका तर शुल्क तिर्न सक्नेले तिर्नुस् भनेका हौं,’ उनले भने, ‘हाम्रामा आउने सबै विपन्न र कोठा भाडामा लिएर बस्ने आउने भएकाले निःशुल्क सेवा दिन थालेका छौं ।’ सरकारी आइसोलेसन सेन्टरमा २ हजार रुपैयाँ निर्धारण गरे पनि निजीमा भने ३ हजार ५ सय रुपैयाँसम्म लिइरहेका छन् । काठमाडौं मेडिकल कलेजको दुवाकोटको आइसोलेसनमा बस्न चाहने संक्रमितले एक दिनको तीन हजार ५ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । केएमसीमा ६ जना कर्मचारीसहित सात जना आइसोलेसनमा छन् । ‘घरमा बस्न नमिल्नेहरू मात्रै आइसोलेसन सेन्टर जाने हुन्, जसको घरमा सुत्केरी, गर्भवती, दीर्घरोगी हुन्छन् । केहीको एउटै कोठा हुन्छ । यसरी आपत्मा परेका व्यक्ति मात्रै सरकारले व्यवस्था गरेको आइसोलेसन सेन्टर जान्थे,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक कर्मचारीले भने, ‘सरकारले अनुदान नदिने भएपछि आइसोसलन सेन्टरले शुल्क उठाउन थाले । पैसा तिर्न सक्ने भइदिएको भए त होटलमा गइहाल्थें नि, किन सरकारले बनाएकै आइसोलेसन खोज्थें र ?’

अस्पतालमा उस्तै चाप

कोरोना संक्रमणबाट गम्भीर बनेकाहरूको अस्पताल भर्ना हुने चाप उस्तै छ । कोरोना संक्रमितको उपचार हुने पाटन अस्पतालमा दैनिक एक सयभन्दा बढीको उपचार भइरहेको छ । पाटन अस्पतालमा बुधबार १ सय २२ जनाको उपचार भइरहेको छ । यसमध्ये आईसीयूमा १६ जना छन् । त्यस्तै शिक्षण अस्पताल महाराजगन्जमा पनि गम्भीरखालका संक्रमितको चाप उस्तै छ । अस्पतालका डा. सविन थपलियाका अनुसार बुधबार १ सय २ जना उपचाररत छन् । यसमध्ये १९ आईसीयूमा छन् । ६ जना भेन्टिलेटरमा छन् । मंगलबार मात्रै १५ जना संक्रमित भर्ना भएका हुन् । स्वघोषणा गरेर शुल्क तिर्न नसक्ने र मन्त्रालयले तोकेको मापदण्ड पूरा गरेका व्यक्तिलाई निःशुल्क उपचार गरिरहेको उनले बताए । ‘स्वघोषणा गर्ने र अन्य वर्गमा पर्नेले भने आवश्यक प्रमाण जुटाउनुपर्ने हुन्छ,’ उनले भने, ‘भर्ना हुँदा धरौटी बुझाउनुपर्ने व्यवस्था हटाइसक्यौं ।’

शुल्क तिर्नुपर्ने व्यवस्था भएपछि अक्सिजन आवश्यक पर्ने गम्भीरखालका संक्रमितले केही दिनयता बेड पाउन सहज भएको उनको अनुभव छ । ‘निःशुल्क हुँदा पहिला जो पनि अस्पताल आउँथे, अवस्था सामान्य हुँदा पनि डिस्चार्ज गर्न सकिँदैनथ्यो, त्यसकारण बेड सधैं प्याक हुन्थ्यो,’ उनले भने, ‘अहिले यो अवस्था केही हदसम्म कम भएको छ । जसलाई अक्सिजन दिनुपर्ने हो, उसले सहजै बेड पाइरहेका छन् ।’

वीर अस्पतालमा कोभिडका लागि छुट्याएको १ सय ३० बेडमा बुधबार १ सय १० जना उपचाररत छन् । अस्पतालका डा. अच्युतराज कार्कीले शुल्क तिर्नुपर्ने प्रावधान आए पनि आईसीयू कहिल्यै खाली नहुने बताए । ‘पहिला र अहिलेमा खासै फरक छैन । हाम्रामा अहिले पनि स्वघोषणा गरेर निःशुल्क उपचार गराइरहेका छन्,’ उनले भने ।

आफूखुसी औषधि नखानू’

होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई आफूखुसी औषधि सेवन नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले बुधबार गरेको कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले चिकित्सक तथा स्वास्थ्यकर्मीको सल्लाह नलिई कोरोना संक्रमण निको भएकासँग सोधेर औषधि खाने गरेको पाइएको बताए ।

जथाभाबी औषधि खाँदा स्वास्थ्यमा नकारात्मक असर पर्ने हुँदा चिकित्सकको सिफारिसमा मात्र औषधि सेवन गर्न उनले आग्रह गरे । होम आइसोलेसनमा बस्दा आफूलाई व्यस्त राख्‍न फिल्म हेर्ने, पत्रपत्रिका पढ्ने, किताब पढ्ने जस्ता मन भुलाउन र सिर्जनात्मक काम गर्न सुझाए । कान्तिपुरमा खबर छ ।