दाङ-बुटवल राजधानी विवाद : यस्तो छ ओलीले विष्णु छाडी शंकरलाई काखी च्याप्नुको भित्री कारण !

दाङ-बुटवल राजधानी विवाद : यस्तो छ ओलीले विष्णु छाडी शंकरलाई काखी च्याप्नुको भित्री कारण !

काठमाडौं । नेकपा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल लामो समयदेखि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीका सारथि हुन् ।

ओलीले निकै विश्वास गर्ने र ओलीलाई हरदम साथ दिने यी दुई नेतालाई ओलीको दाहिने हात नै भन्दा पनि फरक नपर्ला ।

ईश्वर पोखरेल समेत ओलीकै पक्षमा भएपनि उनलाई ओलीले त्यति विश्वास गर्दैनन्, जति यी दुई नेता र पूर्व सभामुख सुवास नेम्वाङ लगायतलाई गर्छन् ।

तत्कालीन एमालेका महासचिव ईश्वर पोखरेललाई साइड लगाएर नेकपामा विष्णु पौडेललाई महासचिव बनाएको पनि यही कारण हो ।

पार्टी एकतामा निकै ठूलो भूमिका खेलेका पौडेललाई प्रचण्डले पनि मन पराएकै थिए, सोही कारण उनी महासचिव बन्न सफल भए ।

शंकर पोखरेल भने प्रदेशमा थन्किए । प्रदेशको मुख्यमन्त्री नै भए पनि राष्ट्रिय राजनीतिको दृष्टिकोणले उनी पछाडि पर्ने चिन्तामा थिए ।

यता विष्णु पौडेलको प्रभाव पार्टीमा बढ्दै नै गयो ।

ओलीको मात्र होइन पौडेलले प्रचण्ड-माधव नेपाल खेमाको पनि मन जिते । सर्वस्वीकार्य बने पौडेल ।

उनको यो राइज पूर्व एमाले खेमामा ईश्वर पोखरेल, शंकर पोखरेललगायत लगायत प्रतिस्पर्धीलाई फिटिक्कै मन परेको थिएन ।

शंकर पोखरेलसँग त उनको अर्को एउटा टसल पनि थियो- प्रदेश ५ को राजधानी ।

पौडेल बुटवलमै प्रदेश राजधानी कायम हुनुपर्ने पक्षमा छन् भने मुख्यमन्त्री समेत रहेका पोखरेल गृहजिल्ला दाङमा ।

यसबीचमा नेकपा निकै ठूलो विवादको भूमरीमा फस्यो । झण्डैझण्डै फूटको मुख्यमा पुग्यो ।

यही मौकालाई शंकर पोखरेलले सदुपयोग गरे । विष्णुको समन्वयकारी भूमिकाका कारण ओलीलाई नितान्त आफ्नो कुरा सुन्ने र आफूले भनेअनुसार मात्र गर्ने विश्वास पात्रको खाँचो थियो ।

मुख्यमन्त्रीको जिम्मेवारी र कामकाज छाडेर उनी लामो समय काठमाडौं बसे । ओलीका सन्देश लिएर कहिले खुमलटार त कहिले कोटेश्वर धाए ।

खुमलटार पार्टी अध्यक्ष प्रचण्ड र कोटेश्वर वरिष्ठ नेता माधव नेपालको निवास हो ।

पार्टीको पछिल्लो विवाद समाधानमा पोखरेलको पनि भूमिका रह्यो ।

यसबीचमा पनि विष्णु पौडेल सबैका साझा देखिए भने शंकर पोखरेल ओलीका नितान्त सहयोगी ।

अनि जुट्यो दाङमा सहमति

प्रदेश ५ को राजधानी दाङ हुनुपर्छ भन्नेमा पूर्व माओवादी खेमा एकजुट नै थियो । दाङको भालुवाङ जनयुद्ध कालमा माओवादीको किल्ला नै मानिन्थ्यो ।

यसमा नजिकको रुकुम/रोल्पाको सेन्टिमेन्ट पनि जोडिएको छ ।

प्युठानबाट बर्दिया झरेका वामदेव गौतमले पनि टाढाको बुटवलभन्दा नजिकको दाङ नै रोज्ने भए ।

वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाललाई यसमा खासै लिनुदिनु थिएन, तर सचिवालयमा दाङकै पक्षमा बहुमत रहेकाले उनीहरू पनि त्यसैमा सकारात्मक थिए ।

बाँकी रहे ओली, ईश्वर पोखरेल र विष्णु पौडेल ईश्वरले टाढाकै भएपनि थर मिल्ने नेता शंकरलाई नै साथ दिए । विष्णु बुटवलका पक्षमा थिए भने ओलीको कित्ता क्लियर थिएन ।

'पछिल्लो काठमाडौं बसाइका क्रममा शंकरले ओली कमरेडको मन जिते अनि प्रदेश ५ को यो लडाईंमा दाङको पक्षमा प्रधानमन्त्रीज्यूलाई ल्याउन सफल भए,' ओली निकट स्रोतले भन्यो ।

यसबीचमा बालुवाटारमा कोरोनाले कब्जा जमाएका बेला पनि ओलीले प्रचण्डलाई बोलाए, अनि दाङलाई प्रदेश राजधानी बनाउने प्रस्ताव गरे ।

ओलीको यो प्रस्ताव प्रचण्डलाई मन नपर्ने कुरै भएन । सहमति जुटिहाल्यो ।

त्यसपछि उनीहरूले शंकर पोखरेललाई आफूहरूबीचको सहमति सुनाए र त्यही अनुसार प्रस्ताव ल्याउन भने ।

शंकरले चाहेको नै यही थियो । तत्काल प्रस्ताव तयार भैहाल्यो ।

अहिले यही विषयले बुटवलमा तनाव छ । प्रदेश सभामा सोमवार तोडफोड भयो ।

कांग्रेस सांसदहरूको नाराबाजीका बीच प्रस्ताव अगाडि बढेको छ ।