विश्वविद्यालयले निकाल्यो जुक्ति, विद्यार्थीको दैलो–दैलोमै पुगेर परीक्षा

विश्वविद्यालयले निकाल्यो जुक्ति, विद्यार्थीको दैलो–दैलोमै पुगेर परीक्षा

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले आइतबारदेखि ‘डोर टु डोर’ परीक्षा सुरु गरेको छ । स्नातकोत्तर तहका लागि अनलाइन र स्नातकका लागि पुरानै विधिबाट विद्यार्थीको अनुकूलताअनुसारका स्थानमा बसेर जाँच दिने व्यवस्था मिलाएको हो । एउटा परीक्षा केन्द्रमा १५ जना विद्यार्थी नबढ्ने गरी परीक्षा सुरु गरिएको विश्वविद्यालयले जनाएको छ ।

उक्त विश्वविद्यालयअन्तर्गत स्नातक तहमा बीबीटीटीएम, बीएएलएलबी र भोट भाषा छन् । एमएका सबै विषयको परीक्षा सुरु गरेको छ । कोरोना भाइरसका कारण दुई पटकसम्म स्थगित परीक्षा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अवलम्बन गरेर सञ्चालन गरिएको विश्वविद्यालयका रजिस्ट्रार डा. तिलक आचार्यले बताए । ‘कोरोना संक्रमणको असर कहिलेसम्म हुन्छ भन्ने निश्चित भएन ।

परीक्षा रोकेर राख्दा विद्यार्थीको शैक्षिक सत्र पछाडि धकेलिने भयो । उपलब्धि गुम्ने भयो,’ उनले भने, ‘विद्यार्थीको समय र शैक्षिक कार्यक्रमलाई निरन्तरता दिन परीक्षा सुरु गरेका हौं ।’

विश्वविद्यालयले अहिले रूपन्देही र काठमाडौंमा मात्र कक्षा सञ्चालन गरेको छ । परीक्षा सञ्चालनका लागि भने रूपन्देही, कपिलवस्तु, नवलपरासी, काठमाडौं र हुम्ला जिल्लाका २० स्थानमा परीक्षा केन्द्र तोकेको छ ।

विद्यार्थीको सहजताका लागि विद्यार्थीले मागेको स्थानमा परीक्षा केन्द्र तोकेको रजिस्ट्रार आचार्यले बताए । परीक्षा सञ्चालनका लागि कतै आफैं त कतै अन्य क्याम्पसको सहयोग लिएको छ । बीए एलएलबीका एक जना विद्यार्थी हुम्लामा छन् ।

उनको परीक्षा हुम्ला क्याम्पसमार्फत दिलाइएको विश्वविद्यालयले जनाएको छ । ‘क्याम्पसका प्राध्यापक वसन्त रोकायालाई परीक्षा नियन्त्रक तोकेर उहाँलाई इमेलमार्फत प्रश्न पठायौं,’ रजिस्ट्रार आचार्यले भने, ‘उहाँले परीक्षा लिएर स्क्यान गरेर उत्तरपुस्तिका पठाउनुहुन्छ ।’ बीए एलएलबीको परीक्षा लिन बुटवलमा मात्रै ८ स्थानमा परीक्षा केन्द्र छन् । पायकमै परीक्षा केन्द्र तोकिएपछि सबै विद्यार्थी खुसी भई परीक्षामा सामेल भएका छन् ।

एलएलबीकी विद्यार्थी अमिशा लम्सालले धेरै समयदेखि रोकिएको परीक्षा आफ्नै पायकबाट दिन पाउँदा खुसी लागेको बताइन् । ‘परीक्षा रोकिएको रोकियै गर्दा निकै टर्चर फिल भएको थियो,’ उनले भनिन्, ‘परीक्षा दिन पाउँदा बोझ कम भएको छ ।’

परीक्षार्थीलाई सुरक्षित बनाउन २–२ मिटरको दूरीमा राखिएको छ । विश्वविद्यालयबाटै मास्क, पन्जा र सेनिटाइजर दिने व्यवस्था गरिएको छ । हरेक दिन परीक्षा हल सेनिटाइज गर्ने, ज्वरो नाप्ने र स्वास्थ्यकर्मी खटाउने गरिएको छ ।

विद्यार्थी आश्मा पाण्डेले कोरोना भाइरसका कारण डराइडराइ परीक्षा दिन आए पनि परीक्षा केन्द्रको सुरक्षाले ढुक्क भएको बताइन् । ‘स्वास्थ्य सुरक्षाका सबै प्रक्रिया अपनाइएको रहेछ,’ उनले भनिन्, ‘परीक्षा दिँदा कुनै खालको मनमा त्रास भएन ।’

धेरै विद्यार्थी भएका संकायमा डोर टु डोर परीक्षा लिएको विश्वविद्यालयले कम विद्यार्थी हुने संकायका परीक्षा भने अनलाइनमार्फत सुरु गरेको छ ।

जसमा विद्यार्थीलाई पूर्ण निगरानीमा राख्ने र उत्तरपुस्तिका तत्काल लिने गरिएको छ । काठमाडौं, बुटवल र लुम्बिनीमा स्नातक र स्नातकोत्तर तह सञ्चालन गरेको लुम्बिनी विश्वविद्यालयमा ७ सय विद्यार्थी छन् ।

सात क्याम्पसले सम्बन्धन लिएका छन् । यसपालि करिब ४ सय विद्यार्थीले परीक्षा दिँदै छन् । निर्धारित तालिकाअनुसार चैतमा हुने परीक्षा कोरोना भाइरसका कारण सरेको थियो । दोस्रो पटक विश्वविद्यालयले भदौ २ देखि परीक्षा सञ्चालनको तयारी गरेको थियो । अन्तिम समयमा जिल्लाहरूमा निषेधाज्ञा भएपछि स्थगित गरेको थियो । कान्तिपुर दैनिकमा खबर छ ।