उपराष्ट्रपतिलाई लक्षित गरी बम आक्रमण, अंगरक्षकसहित १० को मृत्यु

उपराष्ट्रपतिलाई लक्षित गरी बम आक्रमण, अंगरक्षकसहित १० को मृत्यु

काबुल । अफगानिस्तानका उपराष्ट्रपति अम्रुल्लाह सालेहलाई लक्षित गरी प्रहार गरिएको छ। बुधबार बिहान राजधानी काबुलमा उपराष्ट्रपति सालेहलाई लक्षित गरी  भएको आक्रमणमा उनका अंगरक्षकसहित १० जनाको मृत्यु भएको छ। आक्रमणबाट सालेह भने बाँच्न सफल भएको बिबिसीले जनाएको छ। अफिस जान लागेका बेला भएको आक्रमणबाट अफगानी इन्टिलिजेन्स सर्भिसका पूर्वप्रमुख समेत रहेका सालेहलाई सामान्य चोट पटक लागेको छ।

आक्रमण पछि पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो हातमा सामान्य जलन भएको बताएका थिए। बम बिस्फोटपछि कालो धुँवा आकाशमा उडेको भिडिओ स्थानीयहरूले खिचेका छन्। अफगान अधिकारी र विद्रोही समुह तालिवानबीच आधिकारिक वार्ताको तयारी भइरहेका बेला उच्च सरकारी अधिकारीलाई लक्षित गरी बम आक्रमण भएको हो।

उपराष्ट्रपति सालेह तालिवान विरोधीका रूपमा चिनिन्छन्। यद्यपी आजको आक्रमण तालिवानले नै गरेको हो भन्ने एकिन भइसकेको छैन। अफगान अधिकारी र तालिवानबीच कतारको दोहामा वार्ता हुने बताइएको छ। मितिको  भने टुंगो लागिसकेको छैन।