“डन्ट वर्क हार्ड ।”
“ओके, आई विल ट्राई... ।”
यही संवादबाट सुरु भएको हो, हाम्रो निकटता । ग्रोसरी स्टोरको कामदार म । ऊ मेरो नियमित ग्राहक । उसका दुवै खुट्टा काटिएका छन् । ह्विलचेयरमा आउँछ । पछाडि कालो ब्याग झुन्डिएको ह्विलचेयर देख्नेबित्तिकै पिटर हो भन्ने सजिलै चिनिहाल्छु । मैलो न मैलो, घिनलाग्दो । मानौँ, उसले किनेदेखि कहिल्यै धोएको छैन ।
ऊ आउनासाथ त्यही ब्यागमा मैले दुई बोतल सस्तो खालको बियर हालिदिनुपर्छ ।
पैसा तिर्ने काउन्टर अलि अग्लो छ । डेबिट कार्ड घोटे पछि पिन नम्बर हाल्न उसको हात पुग्दैन । मलाई विश्वास गर्दै भन्ने गर्छ, “सिक्स फोर वान थ्री ।”
म जहिल्यै झुक्किने गर्छु, पिन हाल्नु अघि र सोध्ने गर्छु, “फोर सिक्स वान थ्री ?”
“नो नो, सिक्स फोर वान थ्री ।”
बियर किन्न पाइने अमेरिकी नियम कानुन उसलाई राम्ररी थाहा छ । त्यसैले बिहान ८ बजेअगाडि ऊ कहिले पनि आउँदैन । तर, घडीको सुई ८ र १२ मा पुग्नासाथ ढोकाबाट ऊ लुसुक्क छिरिहाल्छ । आइतबार भने ऊ चर्चतिर जान्छ र साँझपख मात्रै झुल्किने गर्छ ।
टाउकोमा बोस्टन लेखेको ह्याट र अमेरिकी राष्ट्रिय पन्छी गिद्दको ठूलो चित्र छापिएको खैरो ज्याकेट उसको आवरण हो । खुट्टालाई सधैँ नीलो जिन्सको पाइन्टले छोप्ने गरेको छ । गर्मी होस् या जाडो, घाम होस् या पानी, उसले कहिल्यै ज्याकेट उतारेको थाहा छैन अथवा मैले याद गरेको छैन ।
कहिलेकाहीँ म आँखा चिम्लिएर मेरा ग्राहकका बारेमा सोच्ने गर्छु्र । त्यति बेला पिटर नम्बर एकमा आउने गर्छ । एक मनले सोच्छु, यसो हुनुको कारण मेरो ऊप्रतिको माया वा दया हुन सक्छ अथवा उसको रहस्यमय जीवनबारे जान्ने मेरो उत्सुकता । अर्को मनले सोच्छु, त्योभन्दा पर एउटा ग्राहक र व्यापारीबीचको सम्बन्ध पनि त छ नि । असल व्यवसायीको कर्तव्य ।
उसो त म वास्तवमै असल व्यवसायी भने होइन । लाग्छ, व्यापारी कहिले पनि निःस्वार्थ भएर लाग्न सक्दैन । व्यापारमा कहीँ न कहीँ स्वार्थ हुन्छ नै । हुनु पनि पर्छ । तर, पिटरको सम्बन्धमा म अलि उदार पनि भएको हुन सक्छु ।
फेरि डेबिट कार्डले पैसा तिर्ने भएकाले उसले कहिले पनि कम पैसा दिँदैन । सरकारी पैसा आउने भएकाले ऊसँग पैसाको कमी पनि हुँदैन । न त उसले अरुले जस्तो उधारो नै माग्छ, न चित्त दुखाएर अरु पसलतिर नै लाग्छ । नियमित र निरन्तरता उसको अठोट । ऊप्रतिको सेवा र व्यापारिक धर्म निर्वाह मेरो कर्तव्य ।
दुई वर्षदेखिको नियमित क्रममा उसले एकपटक मलाई प्रश्न ग¥यो, “कहिलेकाहीँ होम डेलिभरी दिन सक्दैनौ ?”
“मतलब ?”
“हिउँ परेको बेला मेरो गाडा गुड्दैन । म आउन सक्दिनँ । त्यो बेलामा ।”
उसको आग्रहलाई मैले सहज रुपमा लिएँ र भनेको थिएँ, “हुन सक्छ, कहिलेकाहीँ ।”
उसले निश्चित गर्न सोध्यो, “हुन सक्छ कि हुन्छ ?”
मैले भने, “हुन सक्छ । ७८१–३४४–५४५० मा फोन गर्नु, मिलेसम्म तिम्रो सेवामा हाजिर हुनेछु ।”
उसले खुसी हुँदै भन्यो, “मिल्छ भने तिम्रो सेल फोन नम्बर पनि दिनु नि ।”
मैले उसको आग्रहलाई नकार्न सकिनँ र मेरो नम्बर दिएँ । उसले निश्चित गर्न मुखैले भन्यो, “अन्तिम चार नम्बर फाइभ एट सेभेन फोर होइन ?”
“हो ।”
“ल मैले सम्झेँ ।”
गज्जबको रहेछ उसको स्मरण शक्ति । एकै पटकमा १० अङ्कको फोन नम्बर सम्झन सक्ने ।
मैले भनेँ, “तर, पिटर मलाई फुर्सद भएको बेला मात्रै है ।”
“हुन्छ नि । सकेसम्म त म तिमीलाई कहाँ दुःख दिन्छु र ? मेरो स्वभाव त्यस्तो छैन, अरुलाई दुःख दिने । म स्वपीडक हुँ, परपीडक होइन ।”
मलाई उसको अन्तिम शब्दले एकछिन रिँगायो– म स्वपीडक हुँ, परपीडक होइन ।
उसको बारेमा झन् बढी जान्ने ममा इच्छा पलायो र सही समयको पर्खाइमा रहेँ ।
फेब्रुअरीको अन्तिम दिन । अचानक बोस्टनमा ठूलो हिमपात भयो । मन नलाग्दा नलाग्दै पनि म आफ्नो कर्मतिर लागेँ । ग्राहकको आवतजावतको क्रम चलिरहेकै थियो । अचानक पिटरको फोन आयो ।
“के मलाई हेल्प गर्न सक्छौ ? सक्छौ भने सामानको लिस्ट तयार छ । टेक्स्ट् गरिदिन्छु ।”
उसको अनुरोधलाई सहज रुपमा लिँदै एक घन्टाको समय मागेँ । उसले खुसी हुँदै प्रतीक्षामा रहने बतायो ।
चारवटा ब्लक टाढा रहेको थियो उसको बासस्थान । मैले सामानको झोला बिसाउन नपाउँदै उसको ढोका खुल्यो । मुस्कुराउँदै पिटरले हात बढायो, “थ्याङ्क यु, थ्याङ्क यु, थ्याङ्क यु भेरी मच ।”
मैले केही बोल्न नपाउँदै उसले भित्र आउन इसारा ग-यो । म उसको आज्ञा पालन गर्दै लुरुलुरु भित्र पसेँ । इसाराले नै सोफामा बस्न आग्रह ग¥यो । म आज्ञाकारी बालकझैँ थपक्क बसेँ ।
“सरी है । मैले तिमीलाई दुःख दिएँ । उसले कुरा सुरु ग-यो ।”
“केही छैन । अलि स्लो नै थियो । स्टोरबाट निस्किन मन थियो । तिमीले फोन गरेर मलाई सजिलो बनाइदियौ ।”
“हो है ! केही हाजर्ड हुन्छ भन्ने सुन्नेबित्तिकै यहाँका मानिसहरू सामान किनेर थुपारिहाल्छन् । त्यसैले यस्तो दिन पसलमा त्यति भीड लाग्दैन ।”
मैले उसको हो मा हो मिलाएँ । ऊ भन्दै थियो, “तर, म यसो गर्दिनँ । कहिले पनि स्टक गर्नेतर्फ लाग्दिनँ । अनावश्यक सामान थुपार्ने मेरो बानी पनि छैन । यस्तो लाग्छ, दुई–चार दिन नखाए पनि बाँच्न सक्छु होला तर पिउने बानी परेकाले पिउने कुराको भने तलतल लागिरहन्छ ।”
म उसको कुरा सुन्दै थिएँ । सानो तर चिटिक्क परेको कोठाको भित्तामा झुन्याइएको युवतीको तस्बिरमा पुगेर मेरा आँखा टक्क रोकिए । उसले मेरो आशय बुझेछ क्यारे । भनिहाल्यो, “उनी मेरी श्रीमती ।”
“तिम्री श्रीमती ?”
“हो मेरी श्रीमती । किन यति राम्री युवती मेरी श्रीमती हुन सक्दिनन् र ?”
उसको असहज प्रश्नले मलाई अप्ठ्यारो बनायो । मलाई के भनुँ न के भनुँ भयो । तर, म सम्हालिँदै उत्तर दिएँ, “किन न हुनु नि । प्रेम र युद्धमा सबै सम्भव हुन्छ ।”
मेरो कुरामा उसको चित्त बुझेछ क्यारे । जोसिँदै भन्यो, “हो तिमीले ठिक भन्यौ प्रेममा ।”
केही बेरको मौनतापश्चात् उसले मलिनो स्वरमा बोल्यो, “तर, मेरो प्रेम त खोइ कस्तो भयो कस्तो ! आफँैले परिभाषा बदल्नुपर्ने परिस्थितिको झ्यालखानामा बन्धक भयो ।”
“मैले बुझिनँ, पिटर ।”
“मैले प्रेमको स्वरुपलाई बदल्ने कोसिस गरेँ भनेको नि ।”
“कसरी ?”
मेरो जिज्ञासासँगै उसको अनुहारमा अतीतको छाया पर्न थालेको अनुभूति गरेँ । ऊ सुदूर सम्झनामा हराउन थाल्यो ।
“हो, मैले मेरो प्रेमको परिभाषा बदल्न खोजेँ । मसँग विकल्प पनि त थिएन । सहयात्रीबीच प्रेम र समर्पण हुनुपर्छ भन्ने मान्यता राख्ने प्रयास गरेँ । त्यही धारमा रेटिएर आज म एक्लो भएको छु । जब मेरो खुट्टा काट्नु प¥यो, अनि... ।”
“अनि ?”
“हो, मलाई टाइप वान डाइबेटिज थियो । मैले जन्मजात नै लिएर आएको रहेछु । म तीन वर्षको हुँदा थाहा भयो । त्यो बेलादेखि मेरो शरीरमा इन्सुलिनका सुई घोच्न थालिएको थियो । अहिले म ४० को भएँ । यो अवधिमा दैनिक दुई पटकका दरमा कति सुई घोचेँ हुँला ? मेरो भँुडीमा प्वाल नै प्वाल छन्, घोच्न बाँकी ठाउँ कतै छैन ।”
यति भनेर उसले लगाइरहेको टिसर्ट माथि सारेर देखायो । जताततै खत नै खत थिए । मैले मौनतामै उसको पीडा महसुस गरेँ ।
“त्यसपछि ?”
“त्यति बेला हामी फ्लोरिडामा बस्थ्यौँ । पाँच वर्षे प्रेमपछिको हाम्रो विवाह पाँच वर्ष मुस्किलले टिक्यो । यो अवधिमा इन्फेक्सन भएर मेरो एउटा खुट्टा काटिइसकेको थियो । कतै जान पनि उनलाई मैले रोकेजस्तो लाग्थ्यो । खाना मेरा लागि अर्काे, उनका लागि अर्कै । जे बनाए पनि छुट्टाछुट्टै बनाउनुपर्ने भएपछि सँगै बस्नुको मज्जा कहाँ मिल्थ्यो र पीडाबाहेक । मेरा कारण उनको खुसी सबै नियन्त्रित भएझैँ लाग्थ्यो । एक दिन मैले नै छुट्टिने कुरा गरेँ । उनी बोलिनन्, आँसु मात्र झारिरहिन् । मैले उनको आशय बुझिहालेँ । उनलाई मेरो कारणले पीडा भएको छ । उनको पीडाको कारक मै हुँ । सोचेँ, सधैँ निस्सासिएर बाँच्न बाध्य बनाउने प्रेमभन्दा उन्मुक्तिको विछोड प्रिय हुन्छ । त्यसपछि मैले डिभोर्स प्रोसेस अघि बढाएँ ।”
उसले रुन्चे हाँसोमा भन्यो, “आखिर म स्वपीडक न परेँ ।”
डिभोर्स पेपरमा साइन गर्ने दिन मेरो दोस्रो खुट्टा पनि काट्नुपर्ने भयो र काटियो । त्यसपछि यसै नि म उनीबाट टाढिनु थियो । भएको घर बेचेर ऋण–धन आधा–आधा ग¥यौँ । मेरो भागमा परेको केही रकम बोकेर म बोस्टन आएँ । र, आजसम्म यसरी बाँचेको छु ।”
“अनि उनले अर्को बिहे गरिन् त ?”
“त्यो पनि थाहा छैन । छुट्टिने बेला भनेकी थिइन्– म तिम्री हुँ, सधैँ तिम्री रहने छु ।”
म यता आउने दिन एयरपोर्टमा छोड्न आएकी थिइन् । छुट्टिने बेला खुब रोइन् । म पनि अन्तिम पटक रोएँ । मानौँ, जीवनमा मैले अब कहिल्यै रुनुपर्ने छैन भनेर सबै आँसु रित्याएँ । साँच्चै त्यो दिनदेखि मेरा आँखामा आँसु बहेको पनि छैन ।”
ऊ वर्तमानमा फर्किए पनि म उसको अतीतमै थिएँ । उसको प्रेमको घाउमा आफू पनि दुखेको पीडानुभूति लिएर बिदा लिएँ ।
... ... ...
हिउँदपछिको वर्षा अनि वर्षापछिको हिउँद हँुदै पिटरसँगको चार वर्ष बिते । यो क्रममा उसलाई मैले चारपटक उसकै कोठामा भेट्ने मौका पाएँ । जहिले जाँदा पनि भित्तामा रहेको उसकी पत्नीको तस्बिर हाँसिरहेको अनुभूत गर्थें । उसले अरु कुरा केही भन्न चाहेन । न त मैले सोध्ने साहस नै गरेँ ।
हिजो अचानक ऊ एउटी युवतीसँग ऊ मेरो पसलमा आयो र परिचय गरायो, “उनी फ्लोरिडाबाट सदाका लागि यता आइन् । हामी १४ वर्षपछि फेरि सँगै भएका छौँ ।”
मैले युवतीलाई हेरेँ । उनले मुसुक्क हाँसेर हात बढाइन् । मैले हात मिलाएँ । युवतीले मुस्कुराउँदै हार्दिकता पोखिन्, “मेरो अनुपस्थितिमा मेरो पिटरलाई सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद !”
त्यतिबेला पिटरले थप्यो, “मसँग नहुँदा झन् उनलाई बढी पीडा भयो रे ।”
उसले हाँस्दै भन्यो, “आखिर म परपीडक होइन नि । अरुलाई पीडा दिएर बाँच्न पनि त सक्दिनँ ।”
त्यति बेला पिटरको अनुहार पूर्णिमाको जूनजस्तै चम्किलो थियो । मानौँ उसको संसारमा कहिले पनि औँसीको रात आउने छैन ।
हाल : बोस्टन, अमेरिका