केएमसी हस्पिटलको अध्यक्षमा सुनिल शर्मा चयन

केएमसी हस्पिटलको अध्यक्षमा सुनिल शर्मा चयन

काठमाडाैं । नोबेल मेडिकल कलेज विराटनगरका सञ्चालक शुनिल शर्मा काठमाडौं मेडिकल कलेजको अध्यक्षमा चयन भएका छन् ।  काठमाडौंको सिनामंगलस्थित कलेजको आधा स्वामित्व  (५१ प्रतिशत शेयर) खरिद गरेका शर्मा सोमबार अध्यक्षमा चयन भएका हुन् ।

संस्थापक सेयरको प्रति शेयर ६ सय रुपैयाँका दरले २८ लाख ३१ हजार ६७ कित्ता सेयर शर्माले खरिद गरेको स्रोतले जानकारी दिएको छ । केएमसीका डाक्टरहरुको समूहको सेयर शर्माले किनेका हुन् । शर्मा केएमसीको सञ्चालक समिति अध्यक्षमा चयन भएपछि पुराना सञ्चालकहरुले राजीनामा दिएका छन्।

केएमसीको अंकित सेयर मूल्य १०० रुपैयाँ छ। यसमा थप ५०० रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता ६०० रुपैयाँकाले दरले शर्माले सेयर किनेका हुन्। 

स्रोतका अनुसार, तारा हेल्थ केयर सेन्टर, डीबी कार्की, चन्दा कार्की, आरआर पाण्डे, शशिराज पाण्डे, शिवान्तराज पाण्डेले सेयर बिक्री गरेका हुन्। शिवान्त नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेका छोरा हुन्। 

केएमसीको सिनामंगलबाहेक भक्तपुरको दुवाकोटमा ८८ रोपनी जग्गामा मेडिकल कलेज सञ्चालनमा छ।