सागका पदक विजेतालाई नगर परिक्रमा गराइँदै

सागका पदक विजेतालाई नगर परिक्रमा गराइँदै

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी र यसका प्रशिक्षकलाई आज काठमाडौं उपत्यका घुमाएर नागरिक अभिनन्दन गरिदै छ । देशलाई पदक दिलाउने खेलाडी तथा तिनका प्रशिक्षकको सम्मानका लागि नगर परिक्रमा गराएर शुक्रबार नागरिक अभिनन्दन गरीने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

परिषद्का अनुसार, शुक्रबार बिहान ११ बजेबाट नगरपरिक्रमा कार्यक्रम सुरु भएको छ । जसअन्तर्गत राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरबाट सुरुभएको नगर परिक्रमा न्युरोड, इन्द्रचोक, रत्नपार्क, सिंहदरबार पुल्चोक, लगनखेल, सातदोबाटो, कोटेश्वर हुँदै सल्लाघारीसम्म पुग्नेछ ।खेलाडीको सम्मानमा आयोजित नागरिक अभिनन्दन त्यहाँबाट पुनः सल्लाघारी, कोटेश्वर, बानेश्वर हुँदै राखेपमा प्रांगणमा आएर समापन हुने बताएको छ ।

राखेपले खेलाडीको सम्मानमा आयोजित नागरिक अभिनन्दनमा सहभागी भएर खेलाडीको हौसला वृद्धि गरिदिन सबैमा आग्रह गरेको छ । १३ औं साग गत डिसेम्बर १ देखि १० गतेसम्म नेपालमा आयोजना भएको थियो । प्रतियोगितामा नेपालले ५१ स्वर्ण हासिल गर्दै यो प्रतियोगितामा अहिलेसम्मकै धेरै पदक जितेको थियो । विजेता खेलाडीको सम्मानमा नगद पुरस्कार घोषणा गरिसकेको सरकारले आज नागरिक अभिनन्दनसमेत गर्दै छ ।