अछाम । अछामको कैलाशखोलामा आएको बाढीले बगाएका ६ जनाको शव फेला परेको भने १५ जना बेपत्ता भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहका अनुसार बाढीकै कारण रामारोशन गाउँपालिका–५ सैनीबजारमा रहेका कम्तीमा पनि ३० पसलहरु बगेका छन् ।
बाढीले बगेर बेपत्ता भएकाहरुको खोजीकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको टोली बिहानैदेखि खटिएको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ ।
बाढीबाट मृत्यु भएकाको नाम नखुलेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर मंगलसेन पुगेको छ।
सुर्खेतबाट केहीबेर अघि उडेको हेलिकप्टर आवश्यक जनशक्ति र सामाग्री लिन सदरमुकाम मंगलसेन पुगेको हो। सुदूर पश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री झपट बोहराले सबै तह र निकायलाई राहत र उद्दारमा लाग्न निर्देशन दिएको बताए।