काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको आन्तरिक विवाद समाधानको लागि भन्दै कार्यदल गठन भएपछि त्यसले नेकपाभित्रै मिश्रित प्रतिक्रिया पायो । कतिपय नेताले कार्यदलमार्फत सहमति खोज्नु सकारात्मक भएको बताए भने कतिपयले अध्यक्षद्धय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड स्वयंले सहमति जुटाउन नसकेको अवस्थामा कार्यदल गठन गर्नुको औचित्य नभएको प्रतिक्रिया दिए ।
उपाध्यक्ष वामदेव गौतमले कार्यदल गठनप्रति असहमति जनाएका थिए । त्यसैगरी वरिष्ट नेता माधव नेपालले पनि ओली र प्रचण्डबीच भएका सहमतिलाई नै कार्यदलमार्फत स्थायी कमिटीमा ल्याउन लागिएको आशंका गरेका छन् । नेपालको आशंकालाई बल पुग्नेगरी बालुवाटार स्रोतले ओली र प्रचण्डबीच ३ बुँदे गोप्य सहमति भैसकेको दाबी गरेको छ ।
नेता नेपालले भनेजस्तै दुई अध्यक्षबीच भएकै सहमतिलाई कार्यदलमार्फत सार्वजनिक गरेर नेकपामा बृहत सहमति गर्ने तयारी भएको स्रोतको दाबी छ । ओली र प्रचण्डबीच भएको गोप्य सहमतिमा महाधिवेशन र आगामी निर्वाचनसम्म जिम्मेवारी तोकिएको बताइन्छ । आफ्नो कार्यकाल ५ वर्ष नै पुर्याउने शर्तमा ओलीले प्रचण्डसँग विभिन्न विषयमा संझौता गरेको बताइन्छ । स्रोतका अनुसार ओली र प्रचण्डबीच सहमति भएको गोप्य तीन बुँदा यसप्रकार छन् ।
१, चैतमा महाधिवेशन, प्रचण्ड एकल अध्यक्षका उम्मेद्वार
ओली र प्रचण्डबीच चैतमा महाधिवेशन गर्ने सहमति भएको छ । साथै महाधिवेशनमा प्रचण्डलाई एकल अध्यक्षको उम्मेद्वार बनाउनेबारे पनि ओलीसहमत भएका छन् । महाधिवेशनको मिति तोकेर केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा बदल्ने र प्रचण्डले महाधिवेशनको तयारी गर्ने र ओलीले सरकार सञ्चालनमा ध्यान दिनेगरी उनीहरुबीच सहमति भएको बताइन्छ ।
२, महाधिवेशनपछि ओली सर्वोच्च नेता
ओली र प्रचण्डबीच महाधिवेशनपछि प्रचण्ड पार्टीको एकल अध्यक्ष हुने र ओलीलाई सर्वोच्च नेता बनाउने सहमति भएको छ । सर्वोच्च नेताको काम कर्तव्य र अधिकारको बारेमा कार्यदलले सहमति खोज्ने भएको छ । वरियतामा पहिलो नम्मरमा सर्वोच्च नेता भएपनि कार्यकारी अधिकार भने अध्यक्षमै निर्भर रहनेगरी ओलीको व्यवस्थापन गर्नेबारे ओली र प्रचण्ड सहमत भएको स्रोतको दाबी छ ।
३ सहमतिमा सरकार र पार्टी सञ्चालन
ओली र प्रचण्डबीच सहमतिमा सरकार र पार्टी सञ्चालन गर्ने सहमति भएको छ । सहमतिअनुसार ओलीले ५ वर्ष नै सरकार चलाए पनि अबदेखि महत्वपूर्ण नियुक्ति र निर्णय लिनुअघि प्रचण्डसँग परामर्श गर्नुपर्नेछ । यता प्रचण्डले पनि पार्टी सञ्चालनका क्रममा महत्वपूर्ण निर्णय लिनुअघि ओलीलाई जानकारी गराउनुपर्नेछ ।
ओली र प्रचण्डबीच भएका यी सहमतिलाई लिखित रुप दिन र वाँकी विषयमा सहमति जुटाउन गत शुक्रबार महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलमा भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुसाल, शंकर पोखरेल र जनार्दन शर्मा सदस्य छन् । पढ्नुहोस्, यो पनि : चार दिनमा प्रचण्डलाई ओलीका ३ सरप्राइज !